गोदावरी मेयर कप फुटबलः चन्द्रागिरि नगरपालिका सेमी फाइनलमा, नागार्जुन ४-० ले पराजित

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका प्रथम गोदावरी मेयर कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार सम्पन्न प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा छिमेकी नागार्जुन नगरपालिकामाथि ४-० गोलको सहज जित निकाल्दै चन्द्रागिरि नगरपालिका प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको हो । 

चन्द्रागिरि को जितमा खेलको पहिलो हाफमा समिरजंग कार्की र साहिल रानाले समान १-१ गोल गरेका थिए। आयुशमान श्रेष्ठले २ गोल गरे । आयुश खेलको म्यान अफ दि म्याच चुनिए । उनले दुवै गोल खेलको दोश्रो हाफमा गरेका थिए ।

फाइनल प्रवेशका लागि अब चन्द्रागिरि नगरपालिकाले ललितपुरको महालक्ष्मी नगरपालिकाको सामना गर्नेछ ।

महालक्ष्मीले आज नै सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा दक्षिणकाली नगरपालिकाको चुनाैती २-० ले पन्छायो । यी दुइ बीचको  सेमीफाइनल खेल बैशाख २५ गते मंगलबार हुनेछ । 

प्रतियोगिता अन्तर्गत भोलि शनिबार दुइ क्वाटरफाइनल खेल हुनेछन् जहाँ गोदावरी नगरपालिका बी टिमले काठमाडाैं महानगरको सामना गर्ने तालिका छ सो खेल दिउँसो ३ः३० बजे हुनेछ ।

सो अघि मध्यान्ह १२ः३० बजे मध्यपुर थिमी नगरपालिका र कीर्तिपुर नगरपालिकाबीच तेस्रो क्वाटरफाइनल खेल हुने तालिका रहेको छ । 

ललितपुरको गोदावरी नगरपालिका-१० टाहाखेलमा जारी प्रतियोगितामा काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाका १३ स्थानीय तह र आयोजकका दुई टिम गरी विभिन्न १५ टिमले सहभागिता जनाएको आयोजक गोदावरी नगरपालिकाले जनाएको छ ।

बैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख रूपैयाँ र दोश्रो स्थान टोलीले तीन लाख रूपैयाँ हात पार्नेछ । व्यक्तिगत विधाका विजेताले समान २५-२५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *