मैदान हिलाम्मे भएपछि स्थगित गोदावरी मेयर कप फुटबलको सेमीफाइनल खेल मिति तोकियो

Thankot Times

थानकोट ।

ललितपुरको गोदावरी नगरपालिकामा जारी प्रथम गोदावरी मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत स्थगित भएका दुवै सेमीफाइनल खेलको मिति सार्वजनिक गरिएको छ । गत मंगलबारका लागि तय भएको पहिलो सेमीफाइनल खेल सुरु हुनासाथ मध्यान्ह भारी वर्षा हुँदा मैदान हिलाम्मे भएपछि दुवै सेमीफाइनल खेल स्थगित गरिएको थियो ।

प्रतियोगिता आयोजक गोदावरी नगरपालिकाका अनुसार प्रतियोगिताको सेमीफाइनल जेठ २ र ३ गतेका लागि तय भएका छन् ।

जसअनुसार पहिलो सेमीफाइनलमा जेठ २ गते बुधबार महालक्ष्मी र चन्द्रागिरि नगरपालिकाबीच खेल हुनेछ । यो खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।

यसैगरी दोश्रो सेमीफाइनल  जेठ ३ गते बिहीबार दिउँसो ३ः०० बजे मध्यपुर थिमी नगरपालिका र काठमाडौं महानगरपालिकाबीच हुनेछ ।

प्रतियोगितामा काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाका १३ स्थानीय तह र आयोजकका दुई टिम गरी विभिन्न १५ टिमले सहभागिता जनाएको गोदावरी नगरपालिकाले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन् ।

यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *