चन्द्रागिरि नगर क्षेत्रमा आज दिउँसो पनि पानी पर्छ ? यस्तो छ माैसम विभागको भनाई

Thankot Times

थानकोट । 

अहिले बिहान चन्द्रागिरि नगर क्षेत्रको आकाश आंशिक बदली रहेको छ । हिजो दिउँसो भारी भएपछि चन्द्रागिरि नगरको वातावरण अहिले खुलेको छ ।

पहाडी भू-भागका थोरै स्थानमा र तराईका एकदुई स्थानमा आज मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा स्थानीय र  पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको छ । जसका कारण वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदली छ । गण्डकी प्रदेशका थोरै स्थानमा साथै कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । पहाडी भू–भागका थोरै स्थानमा साथै तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले राति कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएकाे छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी प्रदेशलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

पहाडी भू–भागका थोरै स्थानमा साथै तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसँगै हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन प्रभावित हुनसक्ने विभागले जनाएको छ । कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *