वर्षा बाधक बन्दा गोदावरी मेयर कप फुटबलका सेमीफाइनल खेल दोश्रोपटक पनि स्थगित

Thankot Times

थानकोट । 

ललितपुरको गोदावरी नगरपालिकामा जारी प्रथम गोदावरी मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आजका लागि तय भएको पहिलो सेमीफाइनल खेल स्थगित गरिएको छ । 

गत मंगलबारका लागि तय भएको सेमीफाइनल खेल सुरु हुनासाथ मध्यान्ह भारी वर्षा हुँदा मैदान हिलाम्मे भएपछि दुवै सेमीफाइनल खेल स्थगित गरिएको थियो । सो पछि पुनः प्रकाशित गरिएको खेल कार्यक्रममा दोश्रो पटक पनि वर्षा बाधक बनेको छ । वर्षाका कारण गोदावरीस्थित बहुउद्देश्यीय रंगशालाको खेलमैदान हिलाम्मे भएको छ ।

प्रतियोगिता अन्तर्गत आज पहिलो सेमीफाइनल खेलमा चन्द्रागिरि नगरले महालक्ष्मी नगरपालिकाको सामना गर्ने तालिका थियो । 

बुधबार मध्यान्ह खेलस्थल गोदावरीमा भीषण वर्षा हुँदा सेमीफाइनल खेल स्थगित गरिएको हो । 

अब प्रतियोगिताको दुवै सेमीफाइनल खेल बिहीबार लगनखेलस्थित बुद्धि विकास खेल मैदान मा सञ्चालन गर्ने गोदावरी नगरपालिकाको तयारी छ । 

पहिलो सेमीफाइनल बिहीबार खेल बिहान १० बजे हुने गोदावरी नगरपालिकाले जनाएको छ । दोश्रो सेमीफाइनलमा काठमाडाैं महानगर र थिमी नगरपालिकाबीच खेल हुनेछ ।

फाइनल खेल शनिबारका लागि निर्धारण गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *