गोदावरी मेयर कप फुटबल: चन्द्रागिरि र महालक्ष्मीबीचको सेमीफाइनल खेल आज लगनखेलमा हुने
थानकोट ।
निरन्तरको वर्षापछि ललितपुरको गोदावरीमा नगरपालिकामा जारी गोदावरी मेयर कप फुटबल प्रतियोगिताको खेल स्थल परिवर्तन गरिएको छ ।
प्रतियोगिताका अन्तिम तीन खेल बाँकी रहँदा पछिल्लो समय निरन्तर वर्षा हुँदा खेल स्थल गोदावरी नगरपालिका १० टाहाखेलस्थित खेल मैदान हिलाम्मे भएपछि निर्धारित सेमीफाइनल र फाइनल खेलका लागि खेल स्थल नै परिवर्तन गर्ने निर्णयमा आयोजक गोदावरी नगरपालिका पुगेको हो । आज प्रतियोगिता अन्तर्गतका दुवै सेमीफाइनल खेल ललितपुरकै लगनखेलस्थित बुद्धी विकास खेल मैदानमा खेलाइने गोदावरी नगरपालिकाले जनाएको छ ।
पहिलो सेमीफाइनलमा चन्द्रागिरि नगरपालिका र महालक्ष्मी नगरपालिकाबीच बिहान १० बजे खेल हुनेछ । दोश्रो सेमीफाइनल खेलमा दिउँसो १ बजे मध्यपुर थिमी नगरपालिका र काठमाडाैं महानगरपालिकाबीच खेल हुने तालिका छ ।
फाइनल खेल शनिबार हुनेछ ।
ललितपुरको गोदावरी नगरपालिका-१० टाहाखेलमा जारी प्रतियोगितामा काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाका १३ स्थानीय तह र आयोजकका दुई टिम गरी विभिन्न १५ टिमले सहभागिता जनाएको आयोजक गोदावरी नगरपालिकाले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद पाँच लाख रूपैयाँ र दोश्रो स्थान टोलीले तीन लाख रूपैयाँ हात पार्नेछ । व्यक्तिगत विधाका विजेताले समान २५-२५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।














