प्रथम गोदावरी मेयर कपको फाइनल खेल गोदावरीमै हुने, फाइनल खेलको समयमा हेरफेर
थानकोट ।
ललितपुरको गोदावरी नगरपालिका आयोजना भइरहेको प्रथम गोदावरी नगरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेल भोलि (शनिबार) खेलाइँदैछ ।
लगातारको वर्षाका कारण पटक पटक स्थगित भएको प्रतियोगिताको सेमीफाइनल खेल हिजो बिहीबार च्यासलस्थित एन्फा टेक्निकल सेन्टरमा खेलाइएको थियो ।
फाइनल खेल भने गोदावरी नगरपालिका वडा नं. १० स्थित टाहाखेल मैदानमा खेलाइने गोदावरी नगरपालिकाको तयारी छ । यसअघि अपरान्ह ४ बजेका लागि तय भएको फाइनल खेल मध्यान्ह १२ बजे सुरु हुनेछ ।
उपाधिका लागि चन्द्रागिरि नगरपालिका र काठमाडाैं महानगरपालिकबीच खेल हुँदैछ ।
चन्द्रागिरिले सेमीफाइनलमा महालक्ष्मी नगरपालिका र काठमाडाैं महानगरपालिकाले सेमीफाइनलमा मध्यपुर थिमी नगरपालिकाको चुनाैती पन्छाउँदै उपाधि नजिक पुगेका थिए ।
जारी प्रतियोगितामा काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाका १३ स्थानीय तह र आयोजकका दुई टिम गरी विभिन्न १५ टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको विजेताले नगद पाँच लाख रूपैयाँ र दोश्रो स्थान टोलीले तीन लाख रूपैयाँ हात पार्नेछ । व्यक्तिगत विधाका विजेताले समान २५-२५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।














