न्यु डायमन्ड कप यू-१८ खुला महिला भलिबलको उपाधि चन्द्रागिरि न्यु डायमण्डलाई
थानकोट।
चन्द्रागिरि नगरपालिका नैकापमा जारी पहिलो न्यु डायमन्ड कप यू-१८ खुला महिला भलिबल प्रतियोगिताको उपाधि चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड टिमले जितेको छ ।
न्यु डायमन्ड महिला भलिबल टिमको १७ औँ स्थापना दिवस तथा सातौँ भलिबल दिवसको अवसरमा गत शनिबारबाट आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न फाइनलमा चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड क्लबले न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । जितसँगै उसले ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्यो । दोश्रो भएको न्यु डायमण्डले ३० हजार रूपैयाँ पुरस्कार पायो ।
खेलमा चन्द्रागिरि न्यु डायमण्ड २०-२५, २५-२१, २५-१५ र २५-१३ ले विजयी भयो ।
चार टोलीको सहभागिता रहेको प्रतियोगिताको तेस्रो स्थानमा ज्ञान सुधा एकेडेमी रह्यो ।
श्री कृष्ण मावि ज्ञानसुधासँग ३-० को सोझो सेटमा पराजित भयो । ज्ञानसुधाले २० हजार नगद पुरस्कार पाउँदा श्रीकृष्णले १० हजार रूपैयाँमा चित्त बुझायो ।














