सहकारीको ऋण नतिर्नेलाई कुनै हालतमा नछाडिने चन्द्रागिरि नगरको चेतावनी
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले सहकारीको ऋण तोकिएको समयमै चुक्ता गर्न ऋणीहरुलाई सजग गराएको छ ।
सहकारीका सञ्चालकहरुले रकम अभाव देखाएर बचतकर्ताको निक्षेप फिर्ता गर्न नसकेको घटना बाहिर आइरहँदा सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले निर्धारित समयभित्र ऋणको साँबा, ब्याज र किस्ता तिर्न आग्रह गरेको हो । बारम्बार ताकेता गर्दासमेत ऋणीले ऋण चुक्ता नगर्दा सदस्यको बचत फिर्तामा समस्या परेको गुनासो बढेपछि यस्तो सूचना निकाल्नुपरेको पनि नगरपालिकाले जनाएको छ ।
पछिल्लो समय ऋण तिर्न नपर्ने र नतिर्ने भन्नेजस्ता वित्तिय अराजकता देखिएको उल्लेख गर्दै नगरपालिकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न हदैसम्म कठोर कानूनी कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
सूचनामा भनिएको छ, ‘हाल यदाकदा समाजमा ऋण तिर्न नपर्ने वा नतिर्ने भन्नेजस्ता वित्तिय अराजकताहरु देखिएका छन् । कोही कसैले आफुले लिएको ऋण तिर्नु नपर्ने कल्पना गरेको भएमा त्यो आफैँका लागि प्रत्युत्पादक हुने र त्यस्ता गतिविधि नियन्त्रण गर्न चन्द्रागिरि नगरपालिकाबाट हदैसम्म कठोर कानूनी कारबाही गरिने जानकारी गराइन्छ ।’
ऋण तिर्न अझै अटेर गरिरहे संघीय सहकारी ऐन, २०७४ को दफा ८३ र ८४ बमोजिम जायजेथाबाट असुलीका लागि प्रक्रिया अघि बढाउने पनि नगरपालिकाको चेतावनी छ ।











