चन्द्रागिरि नगर लगायतका सरकारी कार्यालयको ‘फेभरेट’ लञ्च बक्समा किरा परेको बदाम भेटिएपछि……
थानकोट ।
किरा परेको बदाम भेटिएसँगै बागमती स्वीट्सको उत्पादन तथा बिक्री वितरण रोक्का गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा लगिएको खाजामै किरा परेको बदाम भेटिएपछि मन्त्रालयको निर्देशनअनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तुरुन्त एक्सन लिएको हो । यसअघि पनि बागमतीको खाजामा अखाद्य पदार्थ भेटिएसँगै दुषितमा कारवाहीमा परेको थियो ।
सोमबार(चैत्र ३०)गरिएको संयुक्त अनुगमनमा बागमती स्वीट्स प्रा.लि.को उत्पादन स्थलमा गम्भीर कमजोरी भेटिएपछि सम्पूर्ण उत्पादन तत्कालका लागि रोक्का गरिएको हो ।
विभागको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँसमेतको टोलीले गरेको अनुगमनका क्रममा कारखानाको सरसफाइ अवस्था सन्तोषजनक नरहेको पाइएको छ । अनुगमनका क्रममा पेष्ट कन्ट्रोलको व्यवस्था समेत सन्तोषजनक नरहेको तथा खाद्य पदार्थमा प्रयोगका लागि तयारी अवस्थामा राखिएको आलमोण्ड (ड्राइ बदाम)मा किरा लागेको, प्वाल परेको अवस्थामा भेटिएको विभागले जनाएको छ ।
उक्त अवस्थामा भेटिएको ड्राइ फुड (मिक्स) तथा सोही आलमोण्डको नमुना संकलन गरिएको छ भने कारखानास्थलमै भेटिएको किरा परेको आलमोण्ड बर्फी करिब ५ किलो नष्ट गरिएको छ ।
अनुगमनपछि विभागले अर्को आदेश नभएसम्मका लागि बागमती स्वीट्स प्रा.लि.को खाद्य पदार्थ उत्पादन गर्ने कारखानाबाट हुने सम्पूर्ण उत्पादन रोक्का गर्ने निर्णय गरेको छ । साथै उत्पादन रोक्का अवधिभर कारखानाबाट कुनै पनि उत्पादन तथा बिक्री–वितरण नगर्न निर्देशन दिइएको छ ।
निर्देशनको अवज्ञा गरे प्रचलित कानुन बमोजिम कारवाही हुने विभागले चेतावनी दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्लो समय तरकारीदेखि मिष्ठान्नलगायत विभिन्न उपभोग्य वस्तुको उत्पादनमा आकस्मिक चेकजाँच बढाएको छ । आम उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका दैनिक उपभोग्य वस्तुको गुणस्तरबारे कडाइका साथ अनुगमन तथा कारवाही अघि बढाउँदै आएको छ ।










