संसदीय समितिका सभापतिको निर्वाचन आज

Thankot Times

थानकोट ।

संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज (वैशाख ४) हुँदै छ । 

प्रतिनिधि सभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिको छुट्टाछुट्टै बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जानकारी दिएको छ । सोही बैठकबाट सभापतिको चयन गरिने जनाइएको छ । 

समितिका सभापतिका निम्ति बिहीबार (वैशाख ३) मनोनयन दर्ता गरिएको छ ।

जसमा शिक्षा समिति र  राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा दुई–दुईजनाको उमेदवारी परेको छ भने अन्य समितिका सभापतिमा एकल उमेदवारी परेको छ ।

कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा अशोककुमार चौधरीले उमेदवारी दिएका छन् । 

पूर्वाधार विकास समितिमा आशिष गजुरेल,  महिला तथा सामाजिक मामिला समिति सभापतिमा आकृति अवस्थी, राज्यव्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकालको उमेदवारी परेको छ ।

अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन सभापतिमा सुम्नीमा उदास, अर्थमा कृष्णहरि बुढाथोकी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारीको उमेदवारी मनोनयन भएको छ । 

लेखा समितिमा कांग्रेसका सांसद भरतबहादुर खड्काले उमेदवारी दिए । 

त्यस्तै, संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाइ समिति सभापतिमा बाेधनारायण श्रेष्ठले उमेदवारी दिएका छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा रास्वपाबाट डा. ओजस्वी शेरचन र एमालेका गुरु बरालको उमेदवारी छ ।

संयुक्त समितिअन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेकपाका मदनकुमारी शाह (गरिमा)ले मनोनयन दर्ता गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *