राप्रपाका नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ

Thankot Times

थानकोट ।

राप्रपाका नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ परेका छन् ।

उनलाई शुक्रबार साँझ पक्राउ गरिएको जनाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

पाण्डेमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई विभिन्न ठेक्काहरूका विवरण हेरफेर गरेको आरोप छ । पाण्डेसँगै भीषण कन्ट्रक्सनका सञ्चालक टङ्ककुमार श्रेष्ठलाई पनि त्यही कसुरमा पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

दुवै जनामाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्काको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरी निवेदनका आधारमा साइबर ब्युरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको थियो ।

त्यही कसुरमा ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी हाल परिवर्तन भएको सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा पाण्डेमाथि थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।

सिआइबीका अनुसार यस मुद्दामा हालसम्म ९ जना शङ्कास्पद व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *