नेपाली कांग्रेसको प्रमुख सचेतकमा बासना थापा, सचेतकमा निश्कल राई
थानकोट ।
नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक बासना थापा बन्ने भएकी छन् ।
दैलेख क्षेत्र नम्बर–१ बाट पहिलोपटक निर्वाचित भएकी थापा कांग्रेसको प्रमुख सचेतक बन्न लागेकी हुन् ।
३५ वर्षीय युवा सांसद निश्कल राई सचेतक बन्ने भएका छन् ।
इलाम–१ बाट निर्वाचित राई ०७९ सालबाट मात्र पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । उनी त्यसअघि नेपाल विद्यार्थी संघको राजनीतिमा थिए ।
विगतमा उनले कोसी प्रदेश सरकारको हामी स्वयंसेवी कार्यक्रमको निर्देशक भएर काम गरेका थिए । उनी रेडक्रससहितका अन्तर्राष्ट्रिय संघसंस्थामा पनि आबद्ध थिए ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चार पदाधिकारी संलग्न कार्यदल गठन गरेका थियो । संसदीय दलमा सर्वसम्मत पदाधिकारी चयन गर्न गठित कार्यदलमा शर्मासहित अर्का उपसभापति पुष्पा भुसाल तथा महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य छन् ।
उक्त समितिले तयार पारेको प्रस्ताव सभापति गगन थापाले संसदीय दललाई सहजीकरण गर्ने भन्दै सोमबार (वैशाख १४) बसेको कार्यसम्पादन समितिको बैठकमा पेस गरेका थिए । तर, प्रमुख सचेतक र सचेतकको नाममा कार्यसम्पादन समितिबाट निर्णय गरिएको थिएन ।
“प्रमुख सचेतक र सचेतकको नाम संसदीय दलको नेता सर्वसम्मत भएपछि भीष्मराज आङ्देम्बेले नै प्रस्ताव गर्नुहुनेछ,” कार्यसम्पादन समितिका एक सदस्यले भने ।
प्रमुख सचेतक र सचेतक तोक्ने अधिकार विधानतः संसदीय दलको नेताको भएकाले कार्यसम्पादन समितिबाट सार्वजनिक नगरिएको हो । संसदीय दलको नेता छान्ने अधिकार पनि विधानतः दलका सदस्यको हो । संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने कार्यसम्पादन समिति बैठकबाट निर्णय गरिएको छ ।
पार्टीभित्र एकताको सन्देश जाने तर्कसहित दलको नेतामा उपसभापति शर्माले आङ्देम्बेको नाम प्रस्ताव गरेका थिए । उनकै अगुवाइको कार्यदलले अन्ततः आङ्देम्बेलाई नै सर्वसम्मत बनाउने प्रस्ताव तयार पारेको हो ।










