नेपाल टेलिकममा प्रिपेडका २८ दिने सबै प्याकेज अब ३० दिन
थानकोट ।
नेपाल टेलिकम (एनटीसी)ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन बनाएको छ ।
टेलिकमले आफ्नो ‘कम्बो–२९९ प्याक’को समयावधि गत चैत २४ गतेदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिसकेको छ ।
यो अवधिका सबै प्याकेज यही वैशाख ११ गतेबाट केही मूल्य समायोजनसहित ३० दिन अवधिको बनाइएको टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए ।
यस व्यवस्थाबाट एनटीसीका ग्राहकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ ।
यो अवस्था लागु भएसँगै अब महिनामा एकपटक रिचार्ज गर्दा पुग्नेछ, जसले प्रयोगलाई सहज बनाउनेछ ।
साथै, उही मूल्यमा दुई दिन बढी सेवा पाउने भएकाले ग्राहकले डेटा, भ्वाइस तथा एसएमएस प्रयोगमा अतिरिक्त सुविधा प्राप्त गर्नेछन् ।
यसले खर्च व्यवस्थापनलाई पनि सहज बनाउने र उपभोक्ता सन्तुष्टि बढाउने विश्वास गरिएको छ । एनटीसीको यस्तो सेवालाई उपभोक्तामैत्री सुधारका रूपमा लिइएको छ ।
यसले टेलिकम क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरणलाई समेत थप गतिशील बनाउने अपेक्षा गरिएको छ ।










