आज बुधबार देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने
थानकोट ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो देशका हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ ।
पहाडी भू-भागका धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ । हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रसँगै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।










