पार्टी कार्यालय सञ्चालनका लागि डेरा खोज्दै एमाले

Thankot Times

थानकोट ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कार्यालय १० बर्षमा तीन ठाउँमा डेरा सरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको नाममा रहेको भवनमा एमालेको कार्यालय सञ्चालन हुँदैआएको छ । तर सरकारले भवन खाली गर्न सूचना जारी गरेपछि एमाले पार्टी कार्यालय सानुपर्ने अवस्था आएको छ ।

भोगाधिकार पाएको, तर लिजमा परिणत नभएको जग्गा खाली गर्न भूमि व्यवस्था मन्त्रालयले सूचना जारी गरेको छ । उक्त सूचना बमोजिम च्यासलको कार्यालय पनि खाली गर्नुपर्ने देखिएको छ । सरकारले भोगाधिकार पाएर पनि समयमै लिज सम्झौता नगरिएका सरकारी जग्गा र त्यसमा बनेका संरचना तत्काल खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

गत बुधवार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले परिपत्र गर्दै सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति बमोजिम २३ पुस २०७९ सम्म लिज सम्झौता नगरेका जग्गाहरू तत्काल खाली गर्न भनेको हो ।

२०७२ सालको भूकम्पले बल्खुस्थित एमाले केन्द्रीय कार्यालय भत्काएपछि केन्द्रीय कार्यालय तीन ठाउँमा सरिसकेको छ । बल्खुबाट धुम्बाराही, थापाथली हुँदै एमाले केन्द्रीय कार्यालय च्यासलबाट सञ्चालन हुँदै आएको थियो । बल्खुको मदननगरमा एमालेको आफ्नै जग्गामा घर थियो । धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानबाट कार्यालय सञ्चालन गर्दै आएको एमालेले त्यसपछि थापाथलीस्थित मोतीलाल दुगडको घरमा कार्यालय सञ्चालन गर्यो ।

दुगडको घरबाट च्यासल पुगेको एमाले कार्यालय कीर्तिपुरमा व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गामा भवन निर्माणपछि सार्ने तयारी थियो । तर कीर्तिपुरको जग्गामा निर्माण हुने घरमा सर्ने ’मा विवाद भएपछि प्रकृया रोकिएको छ । बल्खुको घर निर्माण सम्पन्न नभएका कारण अब एमाले पुनः अर्को कुनै ठाउँबाट कार्यालय सञ्चालन गर्नुपर्ने हुन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र व्यवसायी गुरुङको दम्पतीले २०८१ असोजमा शिलान्यास गरिएको भवन’ पार्टीभित्रै चर्को विरोध भएको थियो । तर, ओलीको एकलौटी चल्ने एमालेले असहमतिको आवाज उठाउने बिन्दा पाण्डे र उषा किरण तिमल्सेनामाथि नै कारबाही गरेको थियो ।

कम्युनिस्ट नेता तुलसीलाल अमात्यको स्मृतिमा स्थापित प्रतिष्ठानको भवनमा विगत तीन वर्षदेखि आफ्नो केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । १२ रोपनी ६ आना क्षेत्रफलमा फैलिएको उक्त जग्गा २०५८ सालमा तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट प्रतिष्ठानलाई भोगाधिकार गर्न दिने निर्णय गरेको थियो ।

तर, प्रतिष्ठानले कार्यनीति बमोजिम तोकिएको समयभित्र लिज सम्झौता भने गरेको छैन । मन्त्रालयको पछिल्लो सूचनाअनुसार लिजमा परिणत नभएका कारण प्रतिष्ठानको भोगाधिकार स्वतः समाप्त भइसकेको छ र उक्त जग्गा तथा त्यसमा बनेको भवन तत्काल खाली गर्नुपर्ने हुन्छ ।

प्रतिष्ठानले उक्त जग्गा तीनवटै तहका सरकार र भारतीय दूतावास समेतको सहयोगमा बनाएको थियो । त्यसमध्ये अधिकांश भाग एमाले कार्यालयले चलाइरहेको छ भने च्यासल मैदान साइडको सानो क्षेत्रमा मात्रै प्रतिष्ठान खुम्चिएर बसेको छ ।

‘एमालेको कार्यालय सञ्चालनका लागि अर्को कार्यालय खोजिरहेका छौं । सरकारले सूचना जारी गरेको छ । तर हामीसमक्ष आधिकारिक पत्र आएको भने छैन् । तर सरकारको सूचना अनुसार खाली गर्नुपर्ने हुन्छ । अर्को कार्यालय खोज्नुको विकल्प पनि अब छैन,’ एमालेका एक नेताले भने ।

प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्य भने आफूहरूले यो जग्गा कानुनअनुसार नै प्रयोग गरिरहेको बताउँछन् । ‘हामीले मन्त्रिपरिषद्को निर्णय अनुसार प्राप्त गरेका हौं । ५० वर्षका लागि लिजमा लिन खोज्दा सरकारले दिएको थिएन । यो भवन बनाउँन पनि सरकारको समेत सहयोगमा बनेको हो,’ उनले भने ।

पूर्व मन्त्रीसमेत रहेका अध्यक्ष शाक्यले अन्य प्रतिष्ठानहरूले पनि यस्तै समस्या भोगिरहेको बताए । प्रतिष्ठानको भवनमा ०७८ देखि एमाले बस्दै आएको छ । च्यासलमै हुँदा कार्यकर्ताहरूबाट पैसा उठाएर एमालेले कार्यालय बनाउने कार्य रोकिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *