प्रधानमन्त्री शाहले अध्यादेश प्रतिनिधि सभामा पेस गर्दै, यस्तो छ सम्भावित कार्यसूची
थानकोट ।
प्रतिनिधि सभाकाे आजकाे बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न अध्यादेश पेस गर्ने भएका छन् ।
साेमबार दिउँसो २ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।
संघीय संसदकाे बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।
आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ । त्यसअघि प्रतिनिधि सभाकाे बैठक बस्नेछ ।
बैठकमा प्रधानमन्त्री शाहले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नेछन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेकाे छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्नेछिन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेस हुनेछन् ।











