प्रधानमन्त्री शाह संसदमा आउने, यही हप्ता सम्बाेधन गर्ने
थानकोट ।
प्रधानमन्त्री वालेन्द्र शाहले यही हप्ताभित्र संघीय संसदलाई सम्बाेधन गर्ने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी गराएका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर मुख्य सचेतक बुर्लाकोटीले सो कुराको जानकारी गराएका हुन् ।
‘ब्रेककाे समयमा हामीले केही छलफल गर्याैँ । विशेष गरी संसदमा रहेकाा सबै दलका प्रमुख सचेतक, सचेतक बसेर छलफल गर्याैँ । याे बीचमा मैले प्रधानमन्त्री ज्यूकाे सचिवालयमा पनि कुराकानी गरेँ । संसदमा वादविवादभन्दा पनि सैद्धान्तिक छलफलबाटै निकास निकाल्ने पर्ने र परिणाम दिनुपर्ने हाे भन्ने हामी अवगत नै छ । सम्माननीय प्रधानमन्त्री ज्यू संसदमा आउनुहुन्छ । सम्भव त एक हप्ताभित्रै संसदमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहान्छु,’ बुर्लाकोटीले भने ।
यसअघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी दलहरूबीच सदनको कारबाही सुचारु गराउने सहमति भएको हाे ।
तत्पश्चात एमालेको संसदीय दलका उपनेता पद्मा अर्यालले सभामुखले कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारीअनुसार बैठकमा सत्तापक्षको प्रस्तुति नआएको उल्लेख गर्दै सदन सरकारको प्रशंसा गर्ने थलो बन्न सक्ने जिकिर गरिन् ।
नेकपाका सांसद प्रमेश हमालले प्रधानमन्त्री संसदमा उपस्थित हुने सम्बन्धमा सत्ता पक्षका मुख्य सचेतकले राखेकाे विषयमा सभामुखबाट रुलिङको माग गरे।
राप्रपाका सचेतक खुश्बु ओलीले कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारीको पालना गर्न सत्ता पक्षलाई आग्रह गरिन् ।
श्रम संस्कृतिका सांसद ध्रुवराज राईले संयमित भएर सदनमा प्रस्तुत हुन आग्रह गर्दै विपक्षीको आवाज सुन्न आग्रह गरे ।
विपक्षी दलले संसदमा प्रधानमन्त्री शाहको उपस्थिति र उठेका विषयमा जवाफ दिन माग गर्दै आएका छन् ।











