बलम्बुबाट हराएको मोटरसाइकल टोखामा भेटियो, आरोपित दुई जना पक्राउ
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. १२ बलम्बु बसन्तटोलबाट हराएको मोटरसाइकल टोखामा भेटिएको छ ।
काठमाडाैं उपत्यका ट्राफिक कार्यालयका अनुसार बलम्बुबाट बा.प्र.०२,०४० प ७४७१ नम्बरको रातो रंगको पल्सर एन एस २०० मोटरसाइकल हराएपछि खोजीका लागि निवेदन परेको थियो ।
सो पश्चात मोटरसाइकल खोजतलास गर्दा जेठ ६ गते टोखा नगरपालिका वडा नं.२, पञ्चेटारबाट मकवानपुर जिल्ला ईन्द्रसरोवर गाउँपालिका वडा नं.६ घर भएका संजित लामा र मकवानुर जिल्ला कैलाश गाउँपालिका वडा नं.३ घर भएका अशोक लामाले उक्त मोटरसाइकल प्रयोग गरी लुकाई छिपाई राखेको अवस्थामा फेला पारेपछि दुवै जनालाई पक्राउ गरिएको बताइएको छ । उनीहरूमाथि प्रहरी वृत थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले नागरिकहरूलाई आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न सम्पूर्णमा अनुरोध छ ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने काठमाडाैं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।










