प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’

Thankot Times

थानकोट ।

राजदूत नियुक्तिका लागि पदीय मर्यादा मिचेर प्रधानमन्त्रीलाई एसएमएस पठाउने सचिव कृष्णहरि पुष्करको कदमप्रति प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले व्यङ्ग्य प्रहार गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले भनेका छन्, ‘मलाई पनि एम्बासडर बन्न मन छ, पिएमको नम्बर छ भने यसो दिनुस् न ।’ आफ्नो पदको गरिमा बिर्सेर व्यक्तिगत स्वार्थका लागि अनुचित बाटो रोज्ने उच्चपदस्थ कर्मचारीको प्रवृत्तिलाई कटाक्ष गर्दै प्रधानमन्त्रीले यस्तो टिप्पणी गरेका हुन् ।

यो घटनाको पृष्ठभूमि गत बिहीबारबाट सुरु भएको हो । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले आगामी असार २४ गते अनिवार्य अवकाशमा जानुअघि राजदूत बन्ने चाहना राख्दै प्रधानमन्त्री शाहलाई सिधै एसएमएस गरेका थिए । म्यासेजमा उनले ‘आफू अवकाशमा जान लागेको र राजदूत पदमा नियुक्ति गरिदिए आभारी हुने’ उल्लेख गर्दै दरखास्त फारम भर्ने विषयमा मार्गदर्शन समेत मागेका थिए । ‘चेन अफ कमान्ड’ मिचेर प्रधानमन्त्रीलाई यस्तो सन्देश पठाएपछि प्रधानमन्त्रीको सचिवालयले उनलाई पक्राउ गरी केरकार गर्न प्रहरीलाई निर्देशन दिएको थियो । सो क्रममा सचिव पुष्करलाई जरुरी पक्राउ पुर्जी समेत दिइएको थियो ।

यसै प्रकरणमा सरकारले सचिव पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त (जगेडा) समूहमा तानेको छ । शुक्रबार प्रधानमन्त्री शाहकै निर्देशनमा उनलाई जिम्मेवारीविहीन बनाउँदै जगेडामा राखिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ