विश्वकप फुटबलको फाइनल खेलाइने मैदानको घाँस बेचिने, एक टुक्राको दाम ४४५ डलर
थानकोट ।
विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेलिने मैदान बिक्री हुने भएको छ ।
फिफाले जुलाई १९ मा न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने फाइनलमा प्रयोग गरिने घाँस प्रतिटुक्रा ४४५ डलरमा बिक्री गर्ने बताएको छ ।
फिफाको स्टोर विभागका अनुसार सो मैदानको १७.५×१७.५×१७.५ को खण्ड बिक्री गरिने छ । यद्यपि सो खण्डको मापन इन्च, सेन्टिमिटर वा मिलिमिटरमध्ये कुनमा हुने भन्ने खुलासा गरिएको छैन । “यो अद्वितीय सङ्ग्रह हुने छ, विश्वकपको सबभन्दा ठुलो इभेन्ट फिफा विश्वकप फाइनल हुने मैदानको आधिकारिक मौलिक घाँसको एक खण्ड सङ्ग्रहकर्ताद्वारा सङ्ग्रह गर्न सकियोस्,” फिफाले बिक्री गर्नुको उद्देश्य खुलाएको छ । फिफाले अमेरिका र युरोपमा मात्र सो मैदानका खण्ड उपलब्ध गराउने छ । यस विश्वकपमा खेलाडी र प्रशिक्षकले मेटलाइफमा मैदानको गुणस्तरको आलोचना गरिरहेका छन् । सामान्यतया एनएफएलमा घरेलु टिम न्युयोर्क जायन्ट्स र जेट्सले खेल्दा कृत्रिम मैदान प्रयोग गर्दछन् ।
यसै गरी फिफाले फाइनलका लागि ३२ हजार ९७० डलरसम्मको टिकट बिक्री गरिरहेको छ । अझ खाना र पेयपदार्थसहितको हस्पिटालिटी टिक ३४ हजार पाँच सय डलरसम्म रहेको छ । यस पटक आयोजकलाई विश्वकपको टिकट निकै महँगो भएको आरोप लागेको छ ।
एपी









