काठमाडाैं उपत्यकामा एक महिनामा फेला परेका ५१ दुईपांग्रे सवारी धनीलाई फिर्ता
थानकोट ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भई फेला परेका ५१ वटा मोटरसाइकल तथा स्कुटरहरू सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले पछिल्लो एक महिनामा फेला परेका ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटरहरू सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
मोटरसाइकल तथा स्कुटरहरू पार्किङ गरिराखेको अवस्थामा हराउने वा चोरी हुने गरेको पाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताए । लामो समयसम्म सवारी साधन पार्किङ गरेर छोड्नुपर्ने अवस्था आएमा नजिकैको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा पूर्व जानकारी गराउन उनले सुझाव दिए ।









