चन्द्रागिरिबाट ग्यास वितरण गर्ने निगमको योजना अन्तिम समयमा स्थगित, अन्य ५ ठाउँबाट भने वितरण हुँदै
थानकोट ।
नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज शनिबार चन्द्रागिरिसहित काठमाडाैंका विभिन्न ६ स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिण्डर बिक्री वितरण गर्ने योजना बनाएको भएपनि चन्द्रागिरि नगरबाट भने ग्यास वितरण नहुने भएको छ । चन्द्रागिरि नगरपालिका भवनबाट ग्यास वितरण गर्ने यसअघि तयारी भएपनि अन्तिम समयमा स्थगित भएको हो ।
चन्द्रागिरि नगरपालिका भवनबाटै शनिबार र आइतबार २४ सै घण्टा ग्यास बेच्ने तयारी
निगमले खाना पकाउने ग्यासको अभावमा रहेका उपभोक्ताका लागि भन्दै शुक्रबार राति सूचना जारी गरेको छ ।
निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास, यातायात कार्यालय परिसर चाबाहिलबाट नेपाल र एचपी र राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ग्यास वितरण गर्ने भएको हो ।
राधास्वामी, बसुन्धरा परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, भानु र ओम, पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट नेपाल, एचपी, एभरेष्ट/सुगम,श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास बिक्री गरिने जनाएको छ ।
निगमबाट खाना पकाउने ग्यासको आयात नियमित रुपमा भइरहेको तथा बिक्री वितरण सम्बन्धित उद्योगहरुले आ-आफ्ना विक्रेताहरुमार्फत नियमित रुपमा गरिरहेको जनाएको छ ।
अति आवश्यक भएका उपभोक्ताले आ-आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्रसहित बिहान १० देखि साँझ ६ बजेसम्म ग्यास खरिद गर्न सकिने जनाएको छ ।












