भोटेकोसी बाढीबाट विद्युत् संरचनामा ठूलो क्षति, ४३१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरियो

Thankot Times

थानकोट ।

भोटेकोसीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको छ ।

बाढीबाट ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ ।

त्रिशूली नदी बेसिनमा सञ्चालित नेपाल विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी तथा निजीक्षेत्रका १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द भएका छन् ।

बाढीका कारण विभिन्न आयोजना तथा संरचनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा कामदारसमेत सम्पर्कविहीन भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

उनीहरूको खोज तथा उद्धार कार्य जारी छ ।

प्रभावित विद्युत् आयोजनाहरू

रसुवागढी जलविद्युत् आयोजना — १११ मेगावाट
सालासुङ्गी (साञ्जेन) — ७८ मेगावाट
माथिल्लो साञ्जेन — १४.८ मेगावाट
साञ्जेन — ४२.५ मेगावाट
चिलिमे — ५२ मेगावाट
लाङटाङ — २० मेगावाट
माथिल्लो त्रिशूली–३ ‘ए’ — ६० मेगावाट
माथिल्लो मैलुङ — १४.८ मेगावाट
मैलुङ — ५ मेगावाट
त्रिशूली जलविद्युत् केन्द्र — २४ मेगावाट
देवीघाट जलविद्युत् केन्द्र — १४ मेगावाट
नेपाल विद्युत् प्राधिकरणको सोलार आयोजना — २५ मेगावाट

यसैगरी, प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवद्र्धकबाट निर्माणाधीन कुल ४७० मेगावाट क्षमताका १५ जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ ।

१९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन

बाढीका कारण विभिन्न आयोजना तथा संरचनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा:

त्रिशूली–३ ‘बी’ आयोजनाको साइटमा कार्यरत २१ जना
चिलिमे जलविद्युत् केन्द्रको पावरहाउस क्षेत्रमा कार्यरत ६ जना
चिलिमे जलविद्युत् केन्द्रको आवास क्षेत्रमा १ जना
त्रिशूली–३ ‘बी’ आयोजनामा चेस्को कम्पनीबाट खटिएका ११ जना
रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना
त्रिशूली–३ ‘ए’ को पावरहाउस मर्मतमा संलग्न ४५ जना
त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रका २ जना
रसुवा वितरण केन्द्रका २ जना
धादिङको त्रिशूली २२० केभी सबस्टेसनमा ठेकेदारमार्फत कार्यरत १६ जना रहेका छन् ।

रसुवामा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध

बाढीका कारण रसुवामा विद्युत् आपूर्ति पूर्णरूपमा तथा नुवाकोट, धादिङ र गोरखामा आंशिक रूपमा अवरुद्ध भएको छ ।

धादिङको जहरेस्थित ३३ केभी सबस्टेसनमा करिब पाँच फिट लेदो जमेको छ । डोजर प्रयोग गरी लेदो हटाउने काम भइरहेको छ । विभिन्न स्थानमा ११ केभीका पोल तथा ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ ।

त्रिशूलीस्थित २२० केभी हब सबस्टेसन पूर्णरूपमा क्षतिग्रस्त भएको छ । चिलिमे २२० केभी हब टावरमा समस्या आएपछि प्रसारणसमेत अवरुद्ध भएको छ ।

चार प्रसारण लाइन अवरुद्ध

बाढीबाट क्षति पुगेपछि निम्न प्रसारण लाइन अवरुद्ध भएका छन् :

समुद्रटार–त्रिशूली १३२ केभी
चिलिमे–त्रिशूली ६६ केभी
चिलिमे हब–त्रिशूली–३ ‘बी’ हब–मातातीर्थ २२० केभी
त्रिशूली–बालाजु ६६ केभी

विभिन्न प्रसारण लाइनका टावरमा समेत क्षति पुगेको छ ।

विद्युत् पुनःस्थापनाको प्रयास जारी

प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि छुट्टाछुट्टै टोली परिचालन गरिएको छ । फसेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्ने काम भइरहेको छ ।

सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजीका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।

वैकल्पिक माध्यमबाट विद्युत् प्रणाली सञ्चालन गर्न सकिने स्थान पहिचान गरी आंशिक रूपमा विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ । सिन्धुपाल्चोकको समुद्रटार क्षेत्रमा प्रणाली सञ्चालन गरी चौघोडा सबस्टेसन चालु गर्ने तयारी भइरहेको छ ।

त्यस्तै, गजुरीदेखि गल्छीसम्म धादिङबेँसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ । सम्भव भएका स्थानमा पेट्रोलिङ, मर्मत तथा प्रसारण लाइन पुनःसञ्चालनको कामसमेत भइरहेको छ ।

विद्युत् प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग तथा सम्बन्धित वितरण केन्द्रलाई विद्युत् प्रणाली सुचारु गर्न आवश्यक निर्देशन दिइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *