रसुवा बाढी: सुदूरपश्चिम सरकारको २ करोड सहयोग, मुख्यमन्त्रीसहित सबै मन्त्रीले १ महिनाको पारिश्रमिक दिने
थानकोट ।
सुदूरपश्चिम प्रदेश सरकारले रसुवामा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन दुई करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री ओमबिक्रम भाटले जानकारी दिएका छन्।
बाढी प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै मुख्यमन्त्री खगराज भट्टसहित प्रदेशका सबै मन्त्रीले एक महिनाको पारिश्रमिकसमेत सहयोग गर्ने निर्णय बैठकले गरेको छ।
उक्त रकम पनि प्रभावितको राहतका लागि उपयोग हुने जनाइएको छ।
मन्त्रिपरिषद्ले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा आवश्यक परेकाले उपचारका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने निर्णयसमेत गरेको छ।
यसै बैठकबाट प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय भएको छ। आयोगको सदस्यमा नेकपा एमालेको तर्फबाट हिरा चन्द र गंगादत्त जोशीलाई नियुक्त गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको प्रदेश सरकारले जनाएको छ।











