दक्षिण कोरियाले पठायो ४४ सदस्यीय उद्धार टोली, धुन्चेबाट उद्धार सुरु

Thankot Times

थानकोट ।

दक्षिण कोरियाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग गर्न ४४ सदस्यीय विपद् उद्धार टोली नेपाल पठाएको छ।

नेपाल सरकारले औपचारिक रूपमा सहयोग मागेपछि दक्षिण कोरियाले कोरिया डिजास्टर रिलिफ टिम (केडीआरटी) नेपाल पठाएको हो।

दक्षिण कोरियाबाट आएको उद्धार टोलीले रसुवाको धुन्चेमा खोज तथा उद्धार कार्य साेथ सुरु गरिसकेको छ। नेपाल सरकारको अनुरोधमा ४४ सदस्यीय दक्षिण कोरियाली विपद् उद्धार टोली मंगलबारदेखि भोटेकोसी बाढी प्रभावित क्षेत्रमा परिचालन भएको हो। टोलीले बाढीपछि सम्पर्कविहीन भएका आफ्ना ९ जना नागरिकको खोजीलाई प्राथमिकता दिनेछ। टोलीले नेपाली सुरक्षा निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा खोज तथा उद्धार गर्नेछ।

दक्षिण कोरियाली टोलीमा राष्ट्रिय अग्नि नियन्त्रक निकायका उद्धारकर्मीसहित विभिन्न सरकारी निकायका अधिकारीहरू सहभागी छन्। टोलीसँग खोज तथा उद्धारका लागि ५ वटा तालिमप्राप्त कुकुर समेत रहेका छन्। टोलीको नेतृत्व विदेश मन्त्रालयका विकास सहयोगसम्बन्धी महानिर्देशक ली क्यु–होले गरेका छन्। टोलीमा विदेश मन्त्रालयका ३, कोइकाका ४ र राष्ट्रिय अग्नि नियन्त्रक निकायका ३७ सदस्य रहेका छन्।

करिब १० दिन नेपालमा रहने टोलीले नेपाली अधिकारीसँग समन्वय गरी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार गर्नेछ। दक्षिण कोरियाली टोलीले नेपाली सेनासँग संयुक्त रूपमा हवाई खोजी गर्नुका साथै ड्रोनसमेत प्रयोग गर्ने बताइएको छ। रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ६ जना दुसान एनर्बिलिटी र ३ जना कोरिया साउथ–इस्ट पावरका गरी ९ जना दक्षिण कोरियाली नागरिक सम्पर्कविहीन छन्।

यसैबीच, माथिल्लो त्रिशूली–१ को सुरुङबाट एउटा शव फेला परेको छ। चिनियाँ सुरुङ उद्धार टोलीले करिब ३०० मिटरभित्र खोजी गर्ने क्रममा शव फेला पारेको हो। शवको पहिचान हुन बाँकी रहेको र दक्षिण कोरियाली दूतावासले पहिचानको प्रक्रिया अघि बढाइरहेको जनाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार बाढी प्रभावित ११ विद्युत् आयोजनाबाट ५७३ जना अझै सम्पर्कविहीन छन् भने ८७३ जनाको उद्धार तथा सम्पर्क भएको छ। माथिल्लो त्रिशूली–१ बाट मात्रै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *