यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय

Thankot Times

थानकोट ।

रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई सरकारले जोखिम भत्तालगायतका सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यस्तै, उद्धारका क्रममा घाइते भएमा निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने र उद्धार तथा खोजी कार्यमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

भोटेकोसी नदीमा आएको बाढीबाट रसुवामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सुरक्षाकर्मी तथा विभिन्न सरकारी निकायका कर्मचारी खोज तथा उद्धारमा खटिएका छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू

– एसियाली विकास बैंकबाट भोटेकोसी बाढीप्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपत्‌कालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने । 

– रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सुचारू गर्न एकीकृत व्यवसाय पुनर्स्थापना योजनाअन्तर्गत राहत, कर तथा महसुललगायत अन्य  सहुलियत तथा सुविधान उपलब्ध गर्ने ।

– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत कुल २५ हजार मेट्रिकटन परिणामको चिनी १ प्रतिशत भन्सार महसुल लिई आयात गर्न स्वीकृति प्रदान गर्ने ।

– रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा नि:शुल्क औषधि उपचार, मृत्यु भएमा निजको परिवारलाई प्रतिमृतक १० लाख राहत उपलब्ध गराउने ।

– २०८३ साल भदौ २३ गते जेन–जी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने ।

– संवत् २०८३ भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोसी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरुप उक्त घटना भएको १३ औँ दिनको पुण्यतिथीको दिन अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने । उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने ।

– नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा नारायणप्रसाद भट्टलाई बढुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोशी प्रदेशको मुख्यसचिव पदमा पदस्थापन गर्ने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *