एसिसी प्रिमियर मेन्स कप: लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा प्रवेश

Thankot Times

थानकोट ।

मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर मेन्स कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ।

आज बायोमास ओभलमा भएको खेलमा नेपालले साउदी अरेबियालाई  ५ विकेटले पराजित गरेको छ। १९१ रनको सामान्य लक्ष्य लिएर जबाफी ब्याटिङमा मैदानमा उत्रिएको नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटायो। नेपालका लागि गुलसन झाले अविजित ४४ रन बनाए। उनले ३५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

यस्तै, इशान पाण्डेले ४०,देव खनालले ३७ र रोहित कुमार पौडेलले २४ रन बनाए। साउदीको लागि इस्ताक अहमद र महम्मुद अतिफले २ विकेट हात पारेका थिए।

यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको साउदी ४९.२ ओभरमा १९० रनमा समेटियो। उसका लागि अब्दुल वाहिदले ७७ तथा महम्मुद अतिफले ३० रनको जोडे। नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ३-३ तथा ललित नारायण राजवंशीले २ विकेट हात पारे।

लगातार ३ जितसंगै नेपाल समूह ‘ए’ को पहिलो स्थानमा उक्लिएको छ। नेपाली टोलीले आजको जितसंगै एक खेलअगावै सेमिफाइनलमा स्थान बनाएको छ।

तस्बिर: क्यान


Leave a Reply

Your email address will not be published. Required fields are marked *