चन्द्रागिरि साकोसको वार्षिक समीक्षा, कार्यक्रम र बजेट तर्जुमासम्बन्धी कार्यशाला सम्पन्न

Thankot Times

थानकोट ।

थानकोट चेकपोष्टस्थित मुख्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८३/८४ को कार्यक्रम र बजेट तर्जुमासम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ।

भक्तपुरस्थित घ्याम्पे डाँडा हेभेन हिल रिसोर्टमा भदौ २० र २१ गते आयोजित कार्यशालामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार परिषद्, विभिन्न उपसमिति तथा उच्च व्यवस्थापनका कर्मचारी गरी करिब ५० जनाको सहभागिता रहेको संस्थाले जनाएको छ ।

कार्यशालाका प्रमुख अतिथि चन्द्रागिरि साकोसका सल्लाहकार परिषद्का संयोजक योगेन्द्रकुमार कुँवरले संस्थाको वार्षिक समीक्षा, योजना तथा बजेट निर्माणमा सरोकारवालाको सहभागिताले योजनाको स्वामित्व र कार्यान्वयन प्रभावकारिता बढाउने बताए । उनले कार्यशालाबाट तय गरिएका लक्ष्य प्राप्तिका लागि आफ्नो तथा सल्लाहकार परिषद्को पूर्ण साथ र ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक भानुप्रकाश ढकालले यस वर्षको कार्यशाला विगतभन्दा फरक, सहभागितामूलक र परिणाममुखी ढङ्गबाट सञ्चालन गरिएको उल्लेख भएको धारणा राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष शीवशंक मानन्धरले कार्यशालामा संस्थाको वित्तीय तथा गैरवित्तीय अवस्था, सबल र कमजोर पक्ष, अवसर तथा चुनौतीको विस्तृत विश्लेषण भएको बताए ।
अध्यक्ष मानन्धरले स्थानीय तहदेखि राष्ट्रिय सहकारी अभियानसम्म संस्थाले प्राप्त गरेका सम्मान तथा विश्व ऋण परिषद् बाट प्राप्त २०२६ डिजिटल ग्रोथ अवार्ड ले संस्थाको पहिचान स्थापित गरिसकेको उल्लेख गर्दै अब थप पुरस्कारको प्रतिस्पर्धाभन्दा संस्थाका कमजोर वित्तीय सूचक सुधारमा केन्द्रित हुनुपर्ने धारणा राखे । अध्यक्ष मानन्धरले चन्द्रागिरि साकोसको अबको प्रमुख प्रयास गुणस्तरीय ऋण प्रवाह र खराब ऋण असुलीमा कडाइ गर्नु रहेको बताउँदै ऋण लगानी वृद्धि र खराब ऋण असुलीमा सफलता प्राप्त गर्न सकेमा लाभांश वितरण तथा सदस्य सेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाउन संस्थाले ध्यान केन्द्रीत गर्ने बताए ।
कार्यशालामा वित्तीय विवरण, लक्ष्य तथा उपलब्धि, सदस्यता, पल्र्स अनुपात, वार्षिक क्रियाकलाप, एनपीएल, एलएलपी, कर्जा पोर्टफोलियो र नियामकीय चुनौतीको समीक्षा गरिएको थियो।
वित्तीय क्विज, ट्राफिक–लाइट मूल्याङ्कन, समस्या वृक्ष, स्टार्ट-स्टप-कन्टिन्यू, ऋण लगानी तथा असुली रणनीति प्रयोगशाला, स्वाट तथा सो को रणनीतिक म्याट्रिक्स, समूहगत योजना-बजेट समीक्षा र प्रतिबद्धता कार्डजस्ता सहभागितामूलक विधि प्रयोग गरिएको थियो।
कार्यशालाले आर्थिक वर्ष २०८३/८४ मा कुल ऋण लगानी १० प्रतिशत वृद्धि गर्ने र भाखा नाघेको ऋणको अनुपात ५ प्रतिशत बिन्दुले घटाउने लक्ष्य तय गरेको छ। त्यसैगरी शेयर पुँजी ५ प्रतिशत, बचत निक्षेप ४ प्रतिशत, जगेडा कोष १० प्रतिशत र कुल सम्पत्ति ५ प्रतिशत वृद्धि गर्ने लक्ष्य तय गरिएको छ। आवश्यक एलएलपी पुँजी पर्याप्तता, नियामकीय व्यवस्था र वितरणयोग्य नाफाको अवस्था पूरा गरी लाभांश वितरण गर्न सक्ने वित्तीय आधार तयार गर्ने साझा प्रतिबद्धतासमेत गरिएको छ ।
कार्यशालाबाट प्राप्त सुझाव, लक्ष्य र साझा संकल्पका आधारमा व्यवस्थापनले वार्षिक कार्यक्रम तथा बजेटलाई अन्तिम रूप दिइने र उक्त प्रस्ताव सञ्चालक समितिबाट अनुमोदन गरी संस्थाको आगामी वार्षिक साधारणसभामा निर्णयार्थ प्रस्तुत गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ