साझा यातायातको रात्रिकालीन बस सेवा अब ६ रुटमा, नागढुङ्गा रुटमा थपिए २ बस
थानकोट ।
साझा यातायातले काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्ने भएको छ ।
संविधान दिवसको अवसर पारेर शनिबारदेखि थप पाँच रुटमा सेवा विस्तार गर्दै कुल ६ रुटमा २८ वटा विद्युतीय बस सञ्चालन गर्न लागिएको हो ।
साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार गत वैशाख १ गतेदेखि दुईवटा रुटमा सात वटा बसमार्फत रात्रिकालीन सेवा सञ्चालन हुँदै आएको थियो । हाल नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा सञ्चालन भइरहेको सेवा शनिबारदेखि थप रुटमा विस्तार गरिने भएको हो ।
नयाँ व्यवस्थाअनुसार बुढानीलकण्ठ–गोदावरी रुटमा ६, जगाती–रत्नपार्क–ठमेलमा ६, विमानस्थल–नागढुंगा रुटमा ४, कीर्तिपुर–जमलमा ४ तथा चक्रपथ परिक्रमाका लागि दुवैतर्फ ८ वटा विद्युतीय बस सञ्चालन हुनेछन् ।
यसअघि सञ्चालनमा रहेका नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा भने क्रमशः चार र तीन वटा बस सञ्चालन हुनेछन् ।
कम्पनीका अनुसार रात्रिकालीन बसहरू सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन् । यात्रुको चाप र आवश्यकताका आधारमा बसको संख्या तथा सेवा समय समायोजन गर्न सकिने कम्पनीले जनाएको छ ।
चक्रपथ परिक्रमाको रुटमा दुवैतर्फ गरी आठ वटा बस सञ्चालन हुने भएकाले उपत्यकाका विभिन्न क्षेत्रलाई रात्रिकालीन सार्वजनिक यातायात सेवासँग जोड्न सहज हुने अपेक्षा गरिएको छ ।
त्यस्तै भक्तपुर–ठमेल, बुढानीलकण्ठ–गोदावरी, विमानस्थल–नागढुंगा, ठमेल–ट्रेकल तथा कीर्तिपुर–जमललगायत रुटमा यात्रुको आवश्यकताअनुसार सेवा सञ्चालन गरिने साझा यातायातले जनाएको छ ।
काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको माग बढ्दै गए पनि रातिको समयमा सार्वजनिक सवारी साधनको उपलब्धता तुलनात्मक रूपमा कम रहेकाले सेवा विस्तार गरिएको कम्पनीको भनाइ छ।
रात्रिकालीन सेवा विस्तारबाट अबेरसम्म कार्यालय तथा व्यवसायमा काम गर्ने, विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य रात्रिकालीन सेवामा कार्यरत यात्रुलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।
विद्युतीय बस सञ्चालन भएकाले रात्रिकालीन सार्वजनिक यातायातको पहुँच विस्तारसँगै वातावरणीय प्रदूषण न्यूनीकरणमा समेत योगदान पुग्ने साझा यातायातको विश्वास छ।














