एमालेमा नेतृत्व पुनर्गठनको प्रस्ताव अध्यक्ष ओलीबाट अस्वीकार (पूर्ण पाठसहित)

Thankot Times

थानकोट ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित पराजयको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् ।

यद्यपि, जिम्मेवारी लिनु भनेको संकटका बेला मैदान छाडेर भाग्नु नभएको उल्लेख गर्दै उनले पार्टीलाई पुनर्जागरण र पुनरुत्थानको बाटोमा डोर्‍याउने बताए ।

आजबाट ललितपुरमा सुरू केन्द्रीय कमिटी बैठकमा ओलीले भदौ २३ र २४ का हिंसात्मक घटना, असंवैधानिक संसद् विघटन, वर्तमान सरकारको प्रतिशोधपूर्ण राजनीति, अन्तर्राष्ट्रिय भूराजनीतिक चलखेल, पार्टीभित्र उठेको पुस्तान्तरण र पुनर्गठनको बहसको विषयमा विश्लेषण पेश गरे ।

फागुनको निर्वाचन परिणामले पार्टीलाई गम्भीर धक्का दिएको स्वीकार गर्दै ओलीले पराजयलाई कुनै एउटा कारण वा व्यक्तिको टाउकोमा मात्र थोपर्नु अवैज्ञानिक हुने बताए । बाह्य घेराबन्दी र आन्तरिक कमजोरीको संयुक्त परिणामका रूपमा यो नतिजालाई लिनुपर्ने उनको भनाइ छ ।

चुनावी हारलाई संगठनमा सुदृढीकरण र शुद्धीकरण नहुनु, कमिटीहरू औपचारिकतामा सीमित हुनु, जनतासँग प्रत्यक्ष संवाद घट्नु, उम्मेदवार छनोटमा त्रुटि, अन्तर्विरोध तथा अन्तर्घात जस्ता कारण देखाएका छन् । आजको युवाले रोजगारी, अवसर, प्रविधि, उद्यम र द्रुत परिणाम खोजिरहेको समयमा केवल इतिहासको गौरव सुनाएर मात्र चित्त बुझाउन नसकिएको उनको स्वीकारोक्ति छ ।

विपक्षीले मिनेटमै फैलाएका अफवाह र भाष्यको तथ्यपूर्ण प्रतिवाद गर्न पार्टीको प्रचार संयन्त्र ढिलो हुनु तथा सामाजिक सञ्जालको अल्गोरिदमसँग जुध्न नसक्नु उनले प्रतिवेदनमा लेखेका छन् ।

‘बिरामी देखेर चिकित्सकले अस्पताल छाड्दैन, बालीमा रोग देखेर किसानले खेत छाड्दैन,’ ओलीले भने, ‘संकटमा बेला नेतृत्वले संगठनलाई अनिश्चयमा छाड्नु हुँदैन । म पदको निजी प्रतिष्ठाका लागि होइन, पार्टीको मनोबल र सुरक्षित राजनीतिक संक्रमणका लागि उभिएको हुँ ।’

‘पुनर्गठन’ को माग खारेज

आफूलाई विस्थापन गर्ने मनसायले ‘पुनर्गठन’ को बेमौसमी बाजा बजाइएको भन्दै उनले त्यसलाई खारेज गरेका छन् । रूपान्तरण इतिहास मेट्ने नभई कार्यशैली, भाषा र निर्णय प्रक्रिया छरितो बनाउने प्रक्रिया भएको भन्दै ओलीले भनेका छन्- जरा काटेर नयाँ पालुवा आउँदैन इतिहास जरा हो, नयाँ पुस्ता पालुवा हो ।

जिम्मेवारी, ज्ञान र राजनीतिक संस्कृतिको योजनाबद्ध हस्तान्तरण हुनुपर्ने भन्दै ओलीले प्रतिवेदनमा हतारको हस्तान्तरणले रिक्तता पैदा गर्ने जिकर गरेका छन् । पुस्तान्तरणको विषयमा उनले कम उमेर हुनु आफैँमा योग्यता र बढी उमेर हुनु अयोग्यता नभएको भन्दै ऊर्जा र अनुभवको संयोजन आवश्यक हुने बताएका छन् ।

अध्यक्ष ओलीले गत भदौ २३-२४ गते ‘जेनजी आन्दोलन’ को नाममा भएका हिंसात्मक घटना, संसद् भवन तथा नेताहरूका निजी आवासमाथिको आगजनी र लुटपाटलाई क्रान्ति मान्न नसकिने दोहोर्‍याएका छन् । बेरोजगारी, महँगी, ऋण, अवसरको अभावजस्ता युवाको असन्तोष जायज भए पनि त्यसलाई असंवैधानिक र आपराधिक दिशामा मोड्ने काममा बाह्य प्रायोजित रणनीति देखिएको ओलीको दाबी छ ।

निर्वाचित सरकार ढालेर, असंवैधानिक रूपमा प्रधानमन्त्री नियुक्त गरी प्रतिनिधिसभा विघटन गरेर चुनावमा लगिएको र यो ‘प्रतिगमन’ भएको जिकिरसहित प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दामा न्यायिक विलम्ब भइरहेकोमा उनले आश्चर्य जनाएका छन् ।

सरकारले छानबिनका नाममा राजनीतिक प्रतिशोध साँधेको उनको आरोप छ ।

अध्यक्ष ओलीले तत्कालका लागि पार्टीसामु दुई प्रमुख कार्यभार तोकेका छन् जसमा संसद्, न्यायालय, प्रेस तथा नागरिक स्वतन्त्रताको रक्षा गर्दै विधिको शासनका लागि राजनीतिक र कानुनी संघर्ष जारी राख्ने र स्थानीय तहदेखि सबै तहका आगामी निर्वाचन जित्न अहिलेदेखि नै वडा तहसम्म योजनाबद्ध तयारी गर्ने छन् ।

यी कार्यभार पूरा गर्न उनले १५ बुँदे संगठनात्मक कार्यदिशा अघि सारेका छन्

ओलीले प्रतिवेदनमा भनेका छन्- एमाले फेरि उठ्छ- विगतको गौरवबाट मात्र होइन, भविष्यको स्पष्ट योजना र जनताको विश्वासको पुनर्निर्माणबाट उठ्छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *