असोज ९ देखि ११ गतेसम्म बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना
थानकोट ।
बागमती प्रदेश सरकार, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले यही असोज ९ देखि ११ गतेसम्म प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।
मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी र पूर्वतयारी अपनाउन अनुरोध गरेको हो।
नेपाल मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा बागमती प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना छ।
मन्त्रालयले भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढने तथा आकस्मिक बाढी, पहिरो र डुबान हुनसक्ने जोखिम रहेको जनाएको छ।
वर्षाका कारण सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन पनि मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले नदी तथा खोला किनार, पहिरो जोखिम भएका भूभाग, भिरालो जमिन र डुबान हुन सक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

जोखिमको सङ्केत देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न सुझाव दिएको छ।
त्यस्तै अति आवश्यक अवस्थामा बाहेक लामो दूरी तथा रात्रीको समयमा यात्रा नगर्न, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामी व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ।
पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजात र अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न समेत अनुरोध गरिएको छ।
प्रदेश सरकारका सम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवालालाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन निर्देशन दिइएको छ।
जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी मिलाउन पनि भनिएको छ।
मन्त्रालयले नेपाल मौसम विज्ञान विभाग, सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना र चेतावनी नियमित रूपमा हेर्न तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न सबैमा अनुरोध गरेको छ।
वर्षा तथा बाढीबारे आवश्यक जानकारी लिन ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल, नेपालको १११४ नम्बर तथा मन्त्रालयगत विपद् सम्पर्क व्यक्तिको मोबाइल नम्बर ९७६९७६१२१४ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले आधिकारिक सूचनालाई मात्र आधार बनाउन र अफवाहमा विश्वास नगर्नसमेत प्रदेशवासीलाई आग्रह गरेको छ।














