जेनजी आन्दोलनमा फरार गुरुङ सतुङ्गलबाट पक्राउ

Thankot Times

थानकोट ।

गतवर्ष भदाै २३-२४ गतेको जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागूऔषध मुद्दाका प्रतिवादी विक्रम गुरुङ पुनः लागूऔषधसहित पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरोले गुरुङमाथिको अनुसन्धानका क्रममा भारतीय नागरिक प्रिया भुजेललाई समेत पक्राउ गरेको छ ।

दुवैबाट गरी १९० ग्राम ५०० मिलिग्राम खैरो हेरोइन, सात लाख रुपैयाँ नगद र दुई थान मोबाइल बरामद भएको ब्यूरोले जनाएको छ ।

ब्यूरोले असोज १४ गते जारी गरेको विज्ञप्तिअनुसार, भारतबाट खैरो हेरोइन ल्याएर काठमाडौं उपत्यकामा बिक्रीवितरण गर्ने गिरोहबारे अनुसन्धान गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

सतुङ्गलबाट गुरुङ पक्राउ

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले असोज १३ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका, सतुङ्गलबाट २७ वर्षीय गुरुङलाई पक्राउ गरेको हो ।

उनी लमजुङको बेँसीसहर नगरपालिका–२ का स्थायी बासिन्दा हुन् ।

प्रहरीका अनुसार, गुरुङको साथबाट २८ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन र सात लाख रुपैयाँ नगद बरामद भएको छ ।

पक्राउपछि उनीमाथि गरिएको थप अनुसन्धानबाट लागूऔषध आपूर्तिमा संलग्न भनिएकी भारतीय महिलाबारे जानकारी प्राप्त भएको ब्यूरोले जनाएको छ ।

अनुसन्धान पछ्याउँदै भारतीय महिलासम्म प्रहरी

गुरुङमाथिको अनुसन्धानका क्रममा भारतको सिलगुडीबाट काठमाडौं उपत्यकामा खैरो हेरोइन ल्याएर बिक्रीवितरण गर्ने गरेको आरोपमा ५० वर्षीया प्रिया भुजेल पक्राउ परेकी हुन् । उनी भारतको पश्चिम बंगालस्थित डोगानकी बासिन्दा रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले भुजेललाई असोज १४ गते चन्द्रागिरि नगरपालिका–१२ बाट पक्राउ गरेको हो । उनको साथबाट १६२ ग्राम खैरो हेरोइन बरामद भएको ब्यूरोले जनाएको छ ।

दुई दिनको कारबाहीमा पक्राउ परेका दुवै जनाबाट बरामद लागूऔषधको कुल परिमाण १९० ग्राम ५०० मिलिग्राम रहेको छ । बरामद सामग्रीमा सात लाख रुपैयाँ नगद र दुई थान मोबाइलसमेत छन् ।

ब्यूरोका अनुसार, गुरुङ यसअघि पनि खैरो हेरोइन मुद्दामा पक्राउ परेका व्यक्ति हुन् । उनलाई २०८१ माघ २ गते ११४ ग्राम ३०० मिलिग्राम खैरो हेरोइनसम्बन्धी मुद्दामा पक्राउ गरिएको थियो ।

त्यसपछि काठमाडौंको जगन्नाथदेवल कारागारमा थुनामा रहेका गुरुङ जेनजी आन्दोलनका क्रममा फरार भएको प्रहरीको अभिलेखबाट खुलेको ब्यूरोले जनाएको छ । कारागारबाट फरार रहेका उनी पुनः लागूऔषध र नगदसहित पक्राउ परेपछि प्रहरीले उनको संलग्नताबारे थप अनुसन्धान अघि बढाएको छ ।

ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार, पक्राउ परेका गुरुङ र भुजेलमाथि लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *