यू-१९ महिला विश्वकपको ड्र सार्वजनिक, नेपालमा १५ खेल आयोजना हुने
थानकोट ।
यू–१९ महिला विश्वकप क्रिकेटका १५ खेल नेपालमा आयोजना हुने भएका छन् ।
प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। कुल ४१ खेल हुने विश्वकपका खेल बंगलादेशको चटगाउँ र सिलेट तथा नेपालको काठमाडौंमा आयोजना हुनेछन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा हुनेछन् । नेपालमा हुने खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन गरिनेछन् ।
आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म आयोजना हुने यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् ।
नेपालले पहिलो खेल जनवरी २२ मा आयरल्यान्डसँग खेल्नेछ। नेपालले दोश्रो खेल भारतसँग २४ जनवरीमा खेल्दा तेस्रो खेल वेष्ट इण्डिजसँग २६ जनवरीमा खेल्नेछ ।
नेपालका सबै तीन खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालन हुनेछन्।















