कात्तिक १२ देखि १४ सम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
थानकोट ।
उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले सरकारले यही कात्तिक १२, १३ र १४ गते पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ।
गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले मंगलबार अत्यन्त जरुरी सूचना जारी गर्दै उक्त अवधिभर पदयात्रा रोक्न अनुरोध गरेको जनाएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनीलाई उद्धृत गर्दै विभागले सम्भावित जोखिम न्यूनीकरणका लागि पदयात्रीहरूलाई सचेत गराएको जनाएको छ।
विभागका निर्देशक सूर्यप्रसाद चापागाईँले जारी गरेको सूचनाअनुसार, कात्तिक १२ देखि १४ गतेसम्म पर्यटकहरूलाई उच्च पहाडी र हिमाली क्षेत्रमा नजान आग्रह गरिएको छ। साथै, पदयात्रामा निस्किसकेका पर्यटकहरूलाई सो अवधिभर सुरक्षित ठाउँमै रहन भनिएको छ।
यसैगरी, प्रतिकूल मौसमलाई मध्यनजर गर्दै अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली भेगका निषेधित क्षेत्रहरूमा जान दिइने पदयात्रा अनुमति पनि मंगलबारबाटै ती दिनहरूका लागि जारी नगर्ने निर्णय गरेको छ।
विभागको सूचनामा ट्रेकिङ एजेन्सी, पदयात्री, गाइड (पथप्रदर्शक) लगायत सम्पूर्ण सरोकारवालाहरूलाई मौसमको जोखिमलाई ध्यानमा राखी सूचनाको पूर्ण पालना गर्न र सुरक्षित रहन अपिल गरिएको छ।














