थानकोट चेकपोष्टबाट बरामद चाँदी ६९ किलो परिमाणको भएको पुष्टि

Thankot Times

थानकोट ।

प्रहरीले काठमाडौंको थानकोटबाट बरामद गरेको चाँदीको यकिन परिमाण ६९ किलो भएको पाइएको छ ।

सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले थानकोटबाट भन्सार छलीको चाँदीसहित भारतीय नागरिक अमन सर्राफलाई पक्राउ गरेको थियो ।

आवश्यक प्रक्रिया पूरा गरेर जोख्दा चाँदीको कुल परिमाण ६९ किलो पुगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

सो चाँदीको बजार मूल्य २ करोड ३६ लाख ३२ हजार रुपैयाँ पर्छ ।

यसअघि प्रहरीले बरामद भएको उक्त चाँदी करिब ६० किलो भएको अनुमान गरेको थियो ।

चाँदीको अवैध ओसारपसारमा संलग्न अमन भारतीय नागरिक हुन् ।

बिहारको रक्सौल घर भएका अमनले थानकोटमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए ।

अमनले मोटरसाइकलमा फल्स बटम बनाएर चाँदी ल्याउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

अमनका बुवा–आमालाई आइतबार मकवानपुर प्रहरीले हेटौँडाबाट १४ केजी चाँदीसहित पक्राउ गरेको थियो । बुवा रमेश कुमार साह र आमा चन्दा सोनी पक्राउ परेपछि प्रहरीले अमनलाई पक्राउ गरेको हो । उनको पसल र डेरा खानतलासी गर्दा भन्सार छलेर ल्याएको चाँदी भेटिएको थियो ।

बरामद चाँदीसहित आरोपीलाई कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइने एसएसपी खड्काले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *