नेपाल प्रिमियर लिग क्रिकेट-२०२६: सुदूरपश्चिम रोयल्स प्लेअफमा, काठमाडौं गोर्खाज ७ रनले स्तब्ध

Thankot Times

सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ ।

शुक्रबार भएको रोमाञ्चक खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा स्थान सुरक्षित गरेको हो ।

यसअघि लुम्बिनी लायन्सले प्लेअफमा स्थान बनाइसकेको छ ।

जितका लागि सुदूरपश्चिमले दिएकाे १२६ रनकाे लक्ष्य पछ्याएकाे काठमाडाैंले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ११८ रन मात्र बनाउन सक्याे ।

काठमाडाैंका लागि राशिद खानले अविजित ३५ रन बनाए । यस्तै, दुशान हेमन्थाले २१, साम हिजलेटले ११ र सन्तोष यादवले १० रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका लागि अनिल खरेलले दुई तथा स्कट कुग्लेन, फाबियन एलन र हेमन्त धामीले समान एक–एक विकेट लिए ।

यसअघि सुदूरपश्चिमले काठमाडौंलाई जितका लागि १२६ रनको लक्ष्य दिएको थियो । तर लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा लक्ष्य भेट्टाउन नसकेपछि सुदूरपश्चिम ७ रनले विजयी भयो ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएकाे थियाे ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रले सर्वाधिक ६० रन बनाए । उनले ४० बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रनको योगदान दिए ।

काठमाडौं गोर्खाजका लागि जहानदाद खानले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । उनले ४ ओभरमा १ मेडन राख्दै २२ रन खर्चिए ।

सन्तोष यादवले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए ।

सन्तोषले खेलको दोस्रो ओभरमै सुदूरपश्चिमका ब्रान्डन म्याकुमुलेन र इशान पाण्डेलाई खाता खोल्न नदिई पवेलियन फर्काएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *