नेपाल आयल निगमले कार्यान्वयनमा ल्याएको डिजिटल प्रणाली ईआरपी के हो?

Thankot Times

थानकोट ।

सरकारी स्वामित्वको नेपाल आयल निगमले साझेदार भारतीय आयल निगम आईओसी)सँग समेत कनेक्ट हुने गरी डिजिटल प्रणाली ईआरपी कार्यान्वयनमा ल्याएको छ।

निगमले सबै  कारोबारलाई एकीकृत डिजिटल प्रणालीमा आबद्ध गर्ने उद्देश्यले सञ्चालन गरेको इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) परियोजना कार्यान्वयनमा ल्याएको हो। ईआरपी प्रणालीले निगमलाई अटोमेसनमा लैजान सघाउनेछ।

परियोजना कार्यान्वयनमा आएसँगै निगमको पेट्रोलियम खरिद, बिक्री, वितरण, भण्डारण, वित्त, लेखा तथा कर्मचारी व्यवस्थापनलगायतका काम डिजिटल प्रणालीबाट सञ्चालन हुनेछन्।

करिब २३ खर्चिएर तयार पारिएको यो प्रणालीको परामर्शदाता काठमाडौँ विश्वविद्यालयको युनिभर्सिटी कन्सल्टले कात्तिक १७ गते प्रतिवेदन बुझाएको परियोजना प्रमुख प्रदीपकुमार यादवले बताए।ईआरपी प्रणालीले निगमको बिक्री, वितरण, वित्त, लेखा, खरिद, भण्डारण, सम्पत्ति व्यवस्थापन तथा मानव संसाधनसम्बन्धी कामलाई एउटै सफ्टवेयरमा जोडेको छ।

ईआरपी प्रणाली कार्यान्वयनसँगै निगमका देशभरका एक हजार ५०० भन्दा बढी डिलर, ६० बोटलर तथा एयरलाइन्स र तिनका एजेन्टले निगमका डिपोमा भौतिक रूपमा उपस्थित नभई अनलाइनबाटै पेट्रोलियमको माग प्रविष्ट गर्न, डिजिटल भुक्तानी गर्न तथा आफ्नो कारोबारको विवरण हेर्न सक्नेछन्।

वार्षिक करिब ३ खर्बको कारोबार गर्ने निगममा यसअघि अधिकांश कारोबार कागजी प्रक्रिया र भौतिक उपस्थितिमा हुने गरेका थिए।

ईआरपी प्रणालीले निगमको बिक्री, वितरण, वित्त, लेखा, खरिद, भण्डारण, सम्पत्ति व्यवस्थापन तथा मानव संसाधनसम्बन्धी कामलाई एउटै सफ्टवेयरमा जोडेको छ। एउटा विभागले प्रविष्ट गरेको तथ्यांक अर्को विभागले तत्काल प्राप्त गर्न सक्ने भएकाले दोहोरो कामको अन्त्य, तथ्यांकको शुद्धतामा वृद्धि र छिटो निर्णय प्रक्रियामा सहयोग पुग्ने निगमको अपेक्षा छ।

जर्मनीको एसएपी कम्पनीले विकास गरेको एसएपी बिजनेस वन प्रविधिमा आधारित यो प्रणाली एसएपी हाना डाटाबेसमा सञ्चालन हुनेछ। ठूलो परिमाणको तथ्यांक छिटो प्रशोधन गर्न सक्ने यस प्रणालीलाई बैंकिङ तथा डिपो सञ्चालनलगायत अन्य प्रणालीसँग पनि जोड्न सकिनेछ।

प्रणाली सार्वजनिक इन्टरनेटबाट प्रत्यक्ष पहुँचयोग्य नभई आन्तरिक इन्ट्रानेटमार्फत सञ्चालन हुने व्यवस्था छ। यसको तथ्यांक लिनक्समा आधारित सर्भरमा राखिएको छ। पहुँच नियन्त्रण, नेटवर्क सुरक्षा, गतिविधि अनुगमन, नियमित अद्यावधिक तथा सुरक्षा परीक्षणलाई समेत प्राथमिकता दिइएको निगमले बताएको छ।

ईआरपी परियोजनाअन्तर्गत बिक्री तथा वितरण, मानव संसाधन सूचना प्रणाली, वित्त, सम्पत्ति, ट्रेजरी र लेखा व्यवस्थापनका प्रमुख प्रणाली सञ्चालनमा आएका छन्। नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको एकीकरणपछि कनेक्ट आईपीएसमार्फत हुने भुक्तानी सीधै ईआरपी प्रणालीमा अद्यावधिक हुने व्यवस्था छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *