धन्वन्तरि जयन्तीका अवसरमा मातातीर्थमा आयुर्वेदका प्रवर्तकको प्रतिमा अनावरण
थानकोट ।
चन्द्रागिरि-८ मातातीर्थस्थित आयुर्वेद औषधालयमा आयुर्वेदका प्रवर्तक धन्वन्तरिको प्रतिमा अनावरण गरिएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरिको जन्मजयन्तीका अवसरमा आइतबार चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरू, नगरका विभिन्न शाखाका कर्माचारीहरू तथा स्थानीयहरूको उपस्थितिमा सो प्रतिमा अनावरण गरिएको हो ।
धन्वन्तरिको प्रतिमा अनावरणपछि बोल्नुहुँदै नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरमा रहेको मातातीर्थ आयुर्वेद औषधालयलाई आयुर्वेदको अध्ययन केन्द्र बनाउनेतर्फ नगरपालिकाले विशेष चासो लिएको बताउनुभयो ।
नगरप्रमुख गिरीले मुलुकका थोरै मात्र स्थानीय तहमा सञ्चालनमा रहेको र त्यो मध्येको एक मातातीर्थ आयुर्वेद औषधालय रहेको हुँदा मातातीर्थ आयुर्वेद औषधालयको समायानुकुल स्तरोन्नतिका लागि नियमित बजेट व्यवस्थापन हुने जानकारी दिनुभयो ।
सो क्रममा नगरप्रमुख गिरीले मातातीर्थ आयुर्वेद औषधालयमा आयुर्वेदिक औषधी उत्पादनका लागि आवश्यक पर्ने जडिबुटी आयुर्वेद औषधालय आफैंले उत्पादनका लागि स्थानीय सार्वजनिक जग्गाहरूको उपयोग गरिने बताउनु भयो ।
धवन्तरिको प्रतिमा अनावरण कार्यक्रममा बोल्नुहुँदै नगरउपप्रमुख बसन्ती श्रेष्ठले मातातीर्थ आयुर्वेद औषधालयबाट उपलब्ध हुने सेवा सुविधाका बारेमा नगरपालिकाले यथोचित प्रचारप्रसारमा जोड दिने बताउनुभयो ।
कार्तिक कृष्ण त्रयोदशीका दिन धवन्तरिको जन्मदिन पारेर नेपाल र भारतमा आरोग्य दिवस मनाइन्छ।
धन्वन्तरिको उत्पत्तिबारे पुराणमा यस्तो सन्दर्भ छ, देवता र दानव मिलेर समुन्द्र मन्थन गरे। यस क्रममा विभिन्न बहुमूल्य वस्तु उत्पत्ति भयो।
धनधान्यकी देवी लक्ष्मी निस्किन्। हातमा अमृतको घडा लिएर धन्वन्तरि निस्किए। उनले बोकेको घडाको अमृत सेवनपछि देवता अमर भए।
शल्यशास्त्रमा निपुणलाई धन्वन्तरि भनिन्छ। चेला अश्विनीकुमारमार्फत धन्वन्तरिले आयुर्वेद विद्या फैलाएको बताइन्छ। कतै कतै धन्वन्तरिलाई भगवान् विष्णुकै अवतार पनि मानिएको छ।
नेपालमा सन् १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस नरदेवी स्थापना भएदेखि धन्वन्तरि जयन्ती मनाउन थालिएको हो। आयुर्वेद चिकित्सक संघको पहलमा २०५६ सालदेखि धन्वन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउने गरिएको छ।













