बागमतीमा सरकार गठनमा किचलो, राप्रपाको विवाद उत्कर्षमा, प्रदेश प्रमुखलाई पत्र
थानकोट ।
बागमती प्रदेश सरकारमा लफडा सुरु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय हस्तक्षेपपछि लफडा सुरु भएको छ । प्रदेश संसदीय दलले एमाले र नेकपाको गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको थियो । राप्रपाको उक्त निर्णयपछि आजै प्रदेश प्रमुखको कार्यालयमा एमालेका किरण थापाले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।
राप्रपाको केन्द्रले पनि उक्त समर्थन नै अवैध भएको ठहर गरेको छ । राप्रपा संसदीय दलको उक्त निर्णयलाई मान्यता नदिन राप्रपाले प्रदेश प्रमुखलाई पत्र पठाएको छ । राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले प्रदेश प्रमुखलाई पत्र लेख्दै उक्त पत्रलाई मान्यता नदिन आग्रह गरेका हुन् ।
२० साउनको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकार गठन र विघटनमा सहभागी नहुने निर्णय गरेको थियो । पार्टीको उक्त निर्णयविपरीत सरकार बनाउन लागेको भन्दै संसदीय दलप्रति राप्रपाका केन्द्रीय नेताहरू आक्रोशित भएका छन् । संसदीय दलका नेता उद्धव थापा भने पहिलादेखि नै एमालेसँग गठबन्धन गर्नुपर्ने पक्षमा थिए ।
सांसद भुवन पाठकहरूको टिम भने विपक्षमा रहेको थियो । थापाले केही समयअघि एमाले अध्यक्ष केपी ओलीलाई पनि भेट गरेका थिए । उक्त भेटमा राप्रपाले समर्थन गर्ने वचन दिएका थिए ।
राप्रपाका प्रदेशसभामा १२ सिट रहेको छ । एमाले र नेकपालाई सरकार बनाउन २ सिट आवश्यक पर्दछ । राप्रपाको समर्थनबिना एमालेका थापा मुख्यमन्त्री हुने सम्भावना कम रहेको छ ।
राप्रपाले केन्द्रीय हस्तक्षेप गरेर प्रदेश संसदीय दलको मान्यता उल्टाउन खोजेपछि सरकार गठन प्रक्रिया अप्ठ्यारोमा पर्ने सम्भावना बढेको छ ।











