बागमती करिडोरका टहरा भत्काउन १० दिने अल्टिमेटम
थानकोट ।
सुकुम्बासीका नाममा बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाइएका घरटहरा भत्काउन १० दिने अल्टिमेटम दिइएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै १० दिनभित्र टहरा भत्काउन र त्यसभित्रका सामान हटाउन निर्देशन दिएको हो ।
विगतमा पनि बागमती नदी करिडोरका अवैध घरटहरा भत्काउन समितिले पटक–पटक निर्देशन दिँदै आएको थियो । तर, निर्देशन कार्यान्वयन भएनन् । यसपटक भने कडाइ गरिने समितिले जनाएको छ ।
समितिका अनुसार पहिलो चरणमा १० दिनको समय दिइएको छ । यो समय सकिँदासम्म घर–टहरा हटाइएन वा त्यहाँ बसेकाले घरटहरा छाडेनन् भने सहरी विकास मन्त्रालय, उपत्यका विकास प्राधिकरण, महानगरपालिकालगायत प्रतिनिधिको संयुक्त बैठक राखिनेछ । बैठकको निर्णयअनुसार भत्काइने समितिले जनाएको छ ।














