आज अपाङ्गता भएका व्यक्तिको अन्तरराष्ट्रिय दिवस

Thankot Times

थानकोट ।

आज डिसेम्बर महिनाको ३ तारिख, अपाङ्गता भएका व्यक्तिको अन्तरराष्ट्रिय दिवस मनाइँदैछ ।

अपाङ्गता भएका व्याक्तिहरुलाई उनीहरूको हक अधिकारको सुनिश्चितता गर्न, जनमानसमा चेतना फैलाउन, उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभर उठाउन सन १९९२ देखि अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन थालिएको हो ।

विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले सन १९७६ मा संयुक्त राष्ट्र सङ्घले सन् १९८१ लाई “पूर्ण सहभागिता र समता” भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय वर्षको रूपमा मनाउने घोषणा गर्‍यो ।

सन् १९८३ मा राष्ट्र सङ्घले अपाङ्गता भएका व्यक्तिहरूको अवसर समानीकरण, पुनर्स्थापना र रोकथाममा जोड दिँदै अपाङ्गता सम्बन्धी १० वर्षे विश्व कार्य योजना पारित गरी लागू गर्‍यो र यसलाई विश्वभर प्रभावकारी रूपमा कार्यान्वयन गराउन सन् १९८३ देखि १९९२ सम्मको अवधिलाई अन्तर्राष्ट्रिय अपाङ्गता दशकको रूपमा घोषणा गरियो ।
सन् १९९२ मा उक्त अपाङ्गता सम्बन्धी १० वर्षे विश्व कार्य योजनाको कार्यान्वयन र उपलब्धिहरूको समीक्षा गर्दै सोही वर्षदेखि डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरी विश्वभर मनाउन थालियो । नेपालले पनि सन् १९९३ देखि हरेक वर्ष विभिन्न कार्यक्रमहरू गरी यो दिवस मनाइँदै आएको छ ।

संयुक्त राष्ट्र सङ्घले दिगो विकासका १७ वटा लक्षहरूमा अपाङ्गताको सवालको समावेशीकरणलाई मुख्य रूपमा जोड दिँदै दिगो विकासका लक्ष्य तोकेको छ ।

यस वर्ष समावेशी विकासका लागि रूपान्तरित समाधान पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।
यसैबीच चन्द्रागिरि नगरपालिकामा पनि आज अपाङ्गता भएका व्यक्तिको ३१औं अन्तरराष्ट्रिय दिवस मनाइँदैछ । नगरको सामाजिक शाखा प्रमुख रश्मी श्रेष्ठका अनुसार आजबाट सात दिनसम्म प्राथमिक अस्पताल थानकोटमा बिहान १० बजेबाट मध्यान्ह १२ बजेसम्म नाक, कान, घाँटीको निःशुल्क परीक्षण शिविर सञ्चालन हुनेछ ।
आज सात गाउँले जात्रा परेका कारण नगरले अपाङ्गता भएका व्यक्तिको अन्तरराष्ट्रिय दिवस लक्षित थप कार्यक्रम नराखेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ