चन्द्रागिरिमा काँग्रेसले नयाँ नेतृत्व पाउँदै, मेयर सहमतिको पक्षमा, आकांक्षी भिड्ने मुडमा

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै छ ।

पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो ।

केही छिटपुट स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मंगलबार अधिवेशन सम्पन्न भएको छ ।

त्यस्तै, मधेश प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले जनाएको छ । बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति ब्यहोरेको रसुवामा भने विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा पाँच जना पदाधिकारी चयन हुनेछन् । त्यसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने प्रावधान छ ।

चन्द्रागिरि नगरपालिकामा नेपाली काँग्रेसले आज नयाँ नेतृत्व पाउँदैछ ।

हालका सभापति एवं मेयर घनश्याम गिरीले सभापति पदका लागि मार्ग प्रशस्त गरेपछि आकांक्षीहरूले सामाजिक सञ्जालमा आफ्नो उमेदवारी प्रस्तुत गरिरहेका छन् ।

यो खबर तयार पार्दासम्म चन्द्रागिरि नगरमा सभापतिको पदमा उमेदवारी दिने भन्दै कम्तीमा ७ जनाले सामाजिक सञ्जाल र विभिन्न अनलाइनहरूमा ‘पेड स्पन्सरसीप’मा प्रचार सुरु गरिसकेका छन् । यद्यपी, चुनावी कार्यक्रम सुरु भएपछि यो संख्या अझै बढ्ने सम्भावना रहेको बुझिएको छ ।

यसैबीच चन्द्रागिरि नगरपालिकाका मेयर तथा नेपाली काँग्रेसका वर्तमान नगर सभापति घनश्याम गिरीले नगरमा सर्वसम्मत नेतृत्व चयन गर्न छलफल भइरहेको बताएका छन् ।

बुधबार बिहान थानकोट टाईम्ससँग कुरा गर्दै मेयर गिरीले भने- प्रजातान्त्रिक पार्टीमा सबैले आ-आफ्नो इच्छा प्रकट गर्न पाइन्छ, तर पार्टीभित्र आफ्नो हैसियत र यसअघि दिइएका जिम्मेवारी कसरी परिपालन गर्न सकियो सो समेत हेक्का राखेर उमेदवारी दिन उनले आग्रह गरे । 

यता नगर सभापतिको उमेदवारी दिने घोषणा गरेका केही आकांक्षीहरूले भने सहमति भन्दापनि खुला चुनावी प्रकृयामा नेतृत्व चयन गर्न जोड दिएका छन् । पार्टीको आन्तरिक लोकतन्त्रको ख्याल राख्दै पार्टी पंक्तिभित्र व्यक्तिगत रुपमा आफ्नो हैसियत मापनका लागि पनि निर्वाचन प्रकृयाबाट नेतृत्व चयन हुनुपर्ने उनीहरूको भनाइ छ । जसले जितेपनि काँग्रेसले नै जित्ने हो, जातिवाद, क्षेत्रीयता भन्दा पनि खुला मतदानमार्फत नेतृत्व चयन गर्न आफुले जोड दिने सभापति पदका एक जना आकांक्षीले थानकोट टाईम्ससँग भने ।

नेपाली काँग्रेस चन्द्रागिरि नगर अधिवेशनमा ३८७ जना प्रतिनिधि छन् । 

बिहान ११ बजे चेकपोष्टस्थित ग्रीनल्याण्ड ब्याङ्क्वेटमा काँग्रेस चन्द्रागिरि नगर अधिवेशन सुरु गर्ने तयारी भइरहेको सो पार्टीका नगर सचिव नविन महर्जनले जानकारी दिए । उनका अनुसार अधिवेशनका लागि बाह्य अतिथि डाकिएको छैन्, हालका सभापति तथा मेयर घनश्याम गिरीले नै अधिवेशनको उद्घाटन गर्नेछन् ।

यो पनि पढ्नुहोस्:

चन्द्रागिरिमा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न, ११ वडाको नेतृत्वमा नयाँ अनुहार


Leave a Reply

Your email address will not be published. Required fields are marked *