चेकपोष्टमा मेडिकलभित्र पसेर प्रहरी हाैं भन्दै काउन्टरको पैसा फुत्काउने २ जना पक्राउ
थानकोट ।
आफूहरू सादा पोसाकमा खटिएका प्रहरी भएको भन्दै औषधि पसलमा प्रवेश गरी डर, त्रास तथा धाकधम्की देखाएर काउन्टरमा रहेको नगद रकम लिएर भागेको आरोपमा दुई जना पक्राउ परेका छन्।
चन्द्रागिरि नगरपालिका-७, स्थित एक स्वास्थ्य क्लिनिकमा यही असोज ५ गते यो घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार दुई जना अपरिचित व्यक्तिहरू क्लिनिकमा प्रवेश गरेका थिए।
उनीहरूले आफूहरू सादा पोसाकमा खटिएका प्रहरी भएको र मेडिकल तथा औषधि पसलहरूको अनुगमनमा हिँडेको बताएका थिए। तत्पश्चात उक्त औषधि पसलमा डर-त्रास र धाकधम्की देखाई काउन्टरमा औषधि बिक्रीबाट जम्मा भएको नगद रकम लिएर फरार भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो।
सूचना पाएलगत्तै प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले घटनामा संलग्न व्यक्तिहरूको खोजी थालेको थियो। खोजतलासका क्रममा बसुन्डोलका रोशन सुर्खेती र सञ्जय बिसुंखेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडाैंले जनाएको छ ।
कृत्तिम बुद्धिमत्ता प्रयोग गरि बनाइएको प्रतिकात्मक तस्बिर














