विश्वकप फुटबलः उपाधिका लागि फ्रान्स र अर्जेन्टिना आज बेलुकी पाैने ९ बजे खेल्दै
थानकोट ।
कतारमा जारी विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा नेपाली समय अनुसार बेलुकी ८:४५ बजे सुरु हुनेछ ।
यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।
फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् ।
प्रतियोगिता अन्तर्गत शनिबार बेलुकी तेश्रो स्थानका लागि भएको खेलमा मोरक्को माथि २-१ को जित निकाल्दै साबिक उपविजेता क्रोएसिया विजयी भयो ।














