काठमाण्डाैमा बिरामीलाई तातो पन्यूँले डाम्ने ‘माता’ पक्राउ
थानकोट ।
बिरामीलाई सख्त घाइते बनाएको आरोपमा आफूलाई ‘माता’ बताउने सचिना मगर तामाङ पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई सोमबार पक्राउ गरेको एसपी दिनेशराज मैनालीले बताए । उनले भने, ‘मंगलबार अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिएर विस्तृत अनुसन्धान थाल्छौं ।’
उपचारका लागि भन्दै आएकी एक जना बिरामीलाई उनले तातो पन्यूँले डामेको आरोप छ ।
प्रहरीका अनुसार भोजपुरको आमचोक गाउँपालिका-६ स्थायी घर भइ तारकेश्वर नगरपालिका-११, मनमैजु बस्ने एक जना महिला उपचारका लागि जरंखुस्थित तामाङको घरमा पुगेकी थिइन् । तामाङले उनको काम्ने, बरबराउने र छटपटाउने समस्याको उपचार गरिदिने भन्दै त्यहाँ बोलाएकी थिइन् ।
रोग निको पार्छु भन्दै दैनिक तातो पन्यूँले डाम्ने, तेलले पोल्ने गर्न थालेपछि उनी घाइते भइन् र आफन्तहरुलाई खबर गरिन् । उनको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । ‘कात्तिक १७ गतेदेखि उहाँ त्यहाँ बस्नु भएको पाइएको छ’, एसपी मैनालीले भने, ‘सख्त घाइते भएपछि मात्रै प्रहरी समक्ष खबर आइपुग्यो ।’













