बागमती प्रदेशको कांग्रेस संसदीय दलको निर्वाचन पुस १३ गते
थानकोट ।
बागमती प्रदेशसभामा नेपाली कांग्रस संसदीय दलको निर्वाचन १३ पुसमा हुने भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश निर्वाचन समितिले दलको नेता चयनका लागि निर्वाचनसम्बन्धी कार्यक्रम तय गरेको हो ।
निर्वाचन समिति संयोजक चन्द्र महर्जनले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा मतदात कार्य हुने जानकारी दिए । यसअघि दलको निर्वाचन काठमाडौंमा गर्ने की हेटौँडामा भन्ने विषय टुंगिएको थिएन । अधिकांश सांसदले निर्वाचन काठमाडौंमै गनुपर्ने राय राखे पनि अन्ततः समितिले निर्वाचन हेटौँडामा गर्ने भएको छ ।
बागमती प्रदेशसभामा कांग्रेसको ३७ सिट छ ।
प्रत्यक्षमा २५ सिट जितेको कांग्रेसले समानुपातिकबाट १२ सिट ल्याएको थियो । कांग्रेस प्रदेशसभाको सबैभन्दा ठूलो दल हो ।
संसदीय दलको नेतामा नुवाकोटबाट निर्वाचित बहादुर सिं लामा र मकवानपुरबाट निर्वाचित इन्द्रबहादुर बानियाँको दाबी रहँदै आएको छ । लामा र बानियाँ दुवै पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् । बागमतीका ३७ सांसदमध्ये संस्थापन पक्षका मात्रै ३२ जना रहेको जनाइएको छ ।
शेखर कोइराला पक्षका सांसद ५ जना रहेको जनाइएको छ ।
कोइराला समूहबाट हालसम्म दलको नेतामा दाबी नरहेको बुझिएको छ । संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकाले कांग्रेस बागमती दलको निर्वाचन रोचक मोडमा पुगेको छ । मुख्यमन्त्रीमा लामा र बानियाँले पार्टी नेतृत्वमा निरन्तर दबाब दिँदै आएका छन् । गठबन्धनको भागबण्डामा पनि बागमतीको मुख्यमन्त्री कांग्रेसले पाउने सम्भावना बढी रहेको नेताहरू बताउँछन् ।
निर्वाचन कार्यक्रमअन्तर्गत् १२ पुस दिउसो १ बजे मतदाता नामावली प्रकाशित गरिने समिति संयोजक महर्जनले जानकारी दिए । मतदाता नामावलीमाथि दाबी विरोध गर्ने समय सोही दिन एक घण्टालाई प्रदान गरिने छ भने ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने महर्जनले जानकारी दिए ।
१३ पुस बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारी दिने समय दिइएको छ । सोही दिन दिउसो १ बजेर ४५ मिनेटमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर २ बजेदेखि मतदान सुरु गरिने महर्जनले बताए ।














