मेयर बालेनले नयाँ सांसदहरूलाई भने- नयाँ गफाडीहरू!

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नवनिर्वाचित सांसदहरूलाई ‘नयाँ गफाडीहरू’ भनेका छन्।

शनिबार आफ्नो सामाजिक सञ्जालमा उनले नयाँ सांसदहरूबारे टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्ः

नयाँ सांसदहरू,

नयाँ गफाडीहरू!

उही पुरानो देश।

उही पुराना व्यापारीहरू।

र्‍यापर पृष्ठभूमिका मेयर बालेन शाहले कवितात्मक शैलीमा लेखेको आफ्नो यो स्टाटसमा कुनै प्रसंग भने खुलाएका छैनन्।

गत मंसिर ४ गतेको चुनावबाट निर्वाचित नयाँ सांसदहरूले बिहीबार मात्रै शपथ लिए। यसपालिको निर्वाचनमा नयाँ राजनीतिक दल र स्वतन्त्र उठेका नयाँ उम्मेदवारहरूले जितेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीन नयाँ दलको उदय भएको छ। त्यस्तै पाँच जना स्वतन्त्र उम्मेदवार पनि सांसद बने।

मेयर बालेन शाह आफैं पनि स्वतन्त्र उम्मेदवार हुन्। गत वैशाखमा भएको निर्वाचनमा उनी भारी मतले विजयी भएका थिए। २०४८ सालपछि काठमाडौंमा स्वतन्त्र उम्मेदवार भएर जित्ने उनी पहिलो मेयर हुन्।

स्थानीय निर्वाचनमा उनीसँगै धरान, धनगढी र अन्य केही पालिकामा पनि स्वतन्त्र उम्मेदवारहरूले जितेका थिए। स्थानीय चुनावको यो लहर संसदीय चुनावमा पनि कायमै रह्यो र संसदमा नयाँ अनुहारहरू देखिएका छन्।

काठमाडौं महानगरले पनि यसपालि ६ जना नयाँ सांसद चुनेको छ। नयाँ सांसदहरूले शपथ लिएको दुई दिनपछि बालेनले टिप्पणी गरेका हुन्।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *