ए डिभिजन लिगमा १४ क्लब

Thankot Times

थानकोट ।

सहिद स्मारक ए डिभिजन लिगका लागि सबै १४ क्लबले दर्ता प्रक्रिया पूरा गरेका छन् ।

क्लब प्रतिनिधिहरुको सहमतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगमा भाग लिनका लागि शुक्रबारसम्म दर्ता गरिसक्नु पर्ने समय सिमा तोकेको थियो ।

यसपटक लिग फागुन १९ गते सुरु हुने एन्फाले यसअघि नै सार्वजनिक गरिसकेको थियो । लिगका लागि तयारी खर्चमध्ये १५ लाख रुपैयाँ पनि अधिकांश क्लबले बुझिसकेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । ‘सबै १४ क्लब नै दर्ता भएका छन्,’ शाहले भने,‘ बैकिङ प्रक्रियाका कारण नेपाल पुलिस क्लबको खातामा पैसा पुग्न बाँकी छ । सम्झौता भइसकेको छ । बाँकी सबै क्लबले तयारी वापतको पहिलो किस्ता लिइसकेका छन् ।’

लिगका लागि क्लबहरुले आइतबार (पुस २४ गते) बाट खेलाडी दर्ता गर्न सक्ने छन् । लिगका लागि माघको २९ गते सम्म कम्तीमा २० खेलाडी दर्ता गरिसक्नुपर्ने एन्फाले जनाएको छ । यसपटक लिगमा नवप्रवेशीका रुपमा चर्च ब्वाइज युनाइटेड युथ क्लब र खुमलटार युवा क्लब रहेका छन् ।

सहभागी अन्य क्लबमा मछिन्द्र, त्रिुभवन आर्मी फुटबल क्लब, न्यूरोड टिम, सातदोबाटो युथ क्लब, मनाङ मस्याङ्दी क्लब, थ्री स्टार क्लब, संकटा क्लब, नेपाल एपिएफ क्लब, जावलाखेल युथ क्लब, हिमालयन शेर्पा क्लब, नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लब छन् ।

गत सिजनमा ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब रेलिगसेनमा परेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *