नवौँ एलआरआई बास्केटबल तथा फुटसल फेस्ट २०७९ को तयारी पूरा

Thankot Times

थानकोट । 

एलआरआई स्कुलले माघ १३ देखि १९ गतेसम्म सञ्चालन हुने ‘नवौँ एलआरआई अन्तरविद्यालयस्तरीय बास्केटबल तथा फुटसल फेस्ट’को तयारी पूरा भएको जनाएको छ । 

स्कुलले लिग चरण हुँदै नकआउट चरणमा प्रवेश गर्ने प्रतियोगिताको टाइसिटमार्फत प्रतिस्पर्धी टिमहरूको छनोट सम्पन्न गरिएको जनाएको हो ।

सद्भाव, मित्रता र भाइचाराको उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा उपत्यकाका १६ वटा विद्यालयको सहभागिता रहने आयोजक एलआरआई स्कुलका प्रशासन प्रमुख दीपक जोशीले बताए ।

विद्यालय हाताभित्रै आयोजना हुने प्रतियोगितामा ट्रिनिटी, ग्लोबल कलेज, हिमालयन ह्वाइट हाउस, सीसीआरसी, गोल्डेन गेट, डीएभी, बर्नहार्ट, ट्रिटन, ग्यालेक्सी, सामाखुसी विद्यालय, केसीसीएस, पुष्प सदन, नवोदित, ओमेगा, आईएमएस, न्यु जेनिथ, टाइम्स, जनमैत्री एस. कलेज तथा आयोजक एलआरआईबीच प्रतिस्पर्धा हुने कलेजका संयोजक ध्रुव खड्काले जानकारी दिए ।

प्रतियोगितामा प्रथम तथा द्वितीय हुने टिमलाई नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई विशेष सम्मान प्रदान गरिने स्कुलले जनाएको छ । 

विद्यार्थीको समग्र विकासका लागि खेलकुद प्रतियोगिताको महत्त्वपूर्ण भूमिका हुने गर्छ । अध्ययनका साथै, यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई मानसिक तथा शारीरिक रूपमा तन्दुरुस्त राख्न महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा एलआरआईले अतिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न खेलकुदलाई पाठ्यक्रममा समावेश गरी अभ्यास गराउँदै आएको प्राचार्य डा. देवकान्त जोशीले बताए ।

कोभिड–१९ को महामारीका कारण नियमित रूपमा सञ्चालन हुन नसकेको प्रतियोगितालाई अब भने विशेष प्राथमिकताका साथ सञ्चालन गरिने आयोजकले जनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *