४८ दिनमा टुंगियो कलंकीदेखी पैदल यात्रासहित माइतीघरमा भइरहेको धर्ना

Thankot Times

थानकोट ।

बाँकेकी एकल महिला निर्मला कुर्मीको न्यायका लागि ४८ दिनदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेका आन्दोलनकारी र सरकारबीच अनुसन्धान छिटो टुंग्याएर दोषीमाथि कारबाही गर्ने सहमति भएको छ ।

अधिकारकर्मी रुबी खानको नेतृत्वमा बाँकेबाट आएका महिलाहरूले निर्मला कुर्मीको रहस्यमय बेपत्ता र मृत्युबारे गहिरो अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गर्दै धर्ना दिँदै आएका थिए । आन्दोलनकी नेतृ खानलगायतले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सरकारको ध्यानाकर्षण गराएका थिए । लगत्तै, गृहसचिव विनोदप्रकाश सिंहसँगको वार्ता सहमतिमा टुंगिएको खानले बताइन् ।

‘प्रधानमन्त्रीले निर्मलालाई न्याय दिने प्रतिबद्धता जनाउनुभयो । छिटोभन्दा छिटो वार्ता गरेर माग सुनुवाइ गर्न गृहसचिवलाई निर्देशन दिनुभयो,’ खानले भनिन्, ‘गृह मन्त्रालयमा भएको वार्ता सहमतिमा टुंगिएको छ । सरकारले अनुसन्धान छिटो टुंग्याएर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता गरेको छ ।’

सहमतिमा हस्ताक्षरपछि आजैबाट धर्ना स्थगित गर्न लागिएको उनले जनाइन् शिलापत्रमा खबर छ । तर, प्रतिबद्धताअनुसार काम नभए पुनः चौथो चरणको आन्दोलन गरिने खानले बताइन् ।

बाँकेको परस्पुर गाउँकी कुर्मीको बेपत्ता तथा मृत्युमा कांग्रेस नेता एवं लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मी प्रत्यक्ष संलग्न रहेको आन्दोलनरत महिलाको आरोप छ । सीआईबीमार्फत अनुसन्धान गर्ने भनिए पनि अघिल्लो सरकारका गृहमन्त्री बालकृष्ण खाँणले आफ्ना नेता जोगाउन अनुसन्धान प्रभावित गरेको उनीहरूको आरोप छ । सीआईबीले भने अनुसन्धान जारी रहेको दाबी गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *